एमाले, माओवादी, रास्वपा र जसपाको नयाँ सरकार, आजै केही मन्त्रीलाई सपथको तयारी

काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको असमझदारीका कारण वर्तमान सत्ता गठबन्धन भत्किएको छ । अब नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको सरकार बन्ने पक्का भएको छ ।

नयाँ सरकारमा कसले कुन मन्त्रालय पाउने भन्ने विषय टुङ्गयाउन एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने र जसपाका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ ।

सकभर आजै केही मन्त्रीलाई सपथग्रहण गराउने तयारी भइरहेको स्रोतले जनाएको छ । विशेष गरेर एमाले र माओवादीबीच केन्द्रदेखि प्रदेशसम्मका सरकारमा सहकार्य गरेर जाने सहमति भएको छ । अब केन्द्रसँगै विभिन्न प्रदेशमा पनि सरकार फेरिने सम्भावना बढेको छ । गएको वर्षको पुस १० गते प्रधानमन्त्री बन्नुभएका प्रचण्डलाई एमाले र कांग्रेससहित संसद्का सबैजसो दलले समर्थन गरेका थिए।

तर पछि एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिएपछि कांग्रेस, एकिकृत समाजवादी, जनता समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायत सरकारमा सहभागि भएका थिए । मन्त्रिपरिषद् हेरफेर र राष्ट्रियसभा अध्यक्षको विषयमा कांग्रेससँग कुरा नमिलेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ गठबन्धनको तयारी थाल्नुभएको थियो ।

हिजो एमाले अध्यक्ष केपी शर्माओलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन टुट्ने संकेत दिएपछि आज बिहानैदेखि एमाले, माओवादी र रास्वपाका नेताहरु पार्टीको आन्तरिक बैठकमा बसेका थिए।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation