सैनामैना वडा नंं ९ को प्रशासनिक भवन उद्घाटन

उपकार अनलाइन, सैनामैना ।
सैनामैना नगरपालिका वडा नंं ९ को प्रशासनिक भवन विहिवार उदघाटन भएको छ । प्रशासनिक भवनको एक समारोहका बीच उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले अहिले सिंहदरवारको अधिकार गाउँसम्म आएको कुरा बताउँदै वडा नंं ९ को प्रशासनिक भवनबाट सेवाग्राहीलाई सेवा दिन अझै सहज हुने बताउनु भयो । उहाँले जनताले नै आफूहरुलाई निर्वाचित गरेर पठाएकोले सेवाग्राहीको सेवा र सुविधालाई जनप्रतिनिधिले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले सहमति र सहकार्यको आधारमा काम गरियो भने हामीले धेरै काम गर्न सक्छौ भन्दै साना साना काममात्रै होइन ठूलो काम पनि सजिलै गर्न सकिने कुरा गर्दै आगामी दिनमा यहाँका राजनैतीक दल, विभिन्न संघ संस्था तथा जनता संग सल्लाह गरेर काम गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भानु पाण्डेले वडा कार्यालयको प्रशासनिक भवनको जग्गा निशुल्क दिने कुराको प्रसंग स्मरण गर्दै पैसा धेरैसंग हुन्छ, अर्बपतिसंगै पैसासंगै जग्गा पनि हुन्छ तर पैसा र जग्गा भएरमात्रै हुँदैन मन पनि हुनुपर्छ भन्नुभयो । उहाँले त्यही जग्गा दान गर्ने मन भएकै कारण स्थानीय शालिग्राम घिमिरे र थानेश्वर पाण्डेले वडा कार्यालय र आधारभूत स्वास्थ्य कार्यालय बनाउन साढे तिन कट्ठा जग्गा दिनुभएको बताउँदै त्यही जग्गामा अहिले वडा कार्यालय बनेको बताउनु भयो ।

वडा भवनको शिलान्यास गत बर्ष माघ १२ गते भएको थियो । करिव १ करोड ५ लाखको लगानीमा वडा कार्यालय भवन निर्माण सम्पन्न भएको हो । सैनामैना वडा न. ९ का वडा अध्यक्ष भानुभक्त पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले वडा नं. ९ का अध्यक्ष तथा निर्वतमान वडा अध्यक्ष डोलराज भण्डारी, नेपाली कांग्रेस वडा नं. ९ का सभापति ईश्वरी तिवारी, नेकपा माओवादी जिल्ला सल्लाहकार तिलक नेपाली , राष्टिय प्रजातन्त्र पाटी प्रतिनिधि सागर लम्साल, जनचेतना माध्यमिक बिद्यालयका अध्यक्ष धर्मराज आत्रेय लगायतले बोल्नु भएको थियो । कार्यक्रम वडा सदस्य तुल्सी प्रसाद रिजाल को स्वागत र वडा सचिब कपिल पौडेलले सञ्चालन गर्नुभएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation