राष्ट्रिय सभामा अध्यक्ष निर्वाचन आज, दाहाल र शर्मा प्रतिस्पर्धा गर्दै

काठमाडौं । राष्ट्रिय सभामा अध्यक्ष पदका लागि मंगलबार निर्वाचन हुँदैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा मंंगलबार बिहान ११ बजेर ९ मिनेटमा बस्ने राष्ट्रिय सभाको बैठकले चुनावको प्रक्रिया अघि बढाउने छ।

अध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावक माओवादीका सांसद गोपीबहादुर सार्की छन्। समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी)का सांसद बेदुराम भुसाल र जसपा सांसद मोहम्मद खालिद छन्।

नेपाली कांग्रेसका सांसद युवराज शर्माले पनि उम्मेदवारी दर्ता गरेका छन्। शर्माको प्रस्तावक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन्। कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिएको छ। उम्मेदवार शर्माको समर्थकमा लोसपा सांसद शेखरकुमार सिंह छन्।

राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी सबैभन्दा ठूलो पार्टी छ। एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद छन्। उम्मेदवार शर्माको समर्थकमा लोसपा सांसद शेखरकुमार सिंह छन्। राष्ट्रिय सभामा कांग्रेसका १६ र लोसपाका १ जना सांसद छन्।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation