उपकार अनलाइन, सैनामैना ।
रुपन्देहीको एक गौतम परिवारले बुहारीलाई छोरीजस्तै अन्माएर पठाएका छन । गुल्मीको चन्द्रकोट गाउंपालिका–२ शान्तिपुर घर भई हाल रुपन्देहीको सैनामैनामा बस्दै आएका लक्ष्मीधर गौतमले बुहारीलाई दोस्रो विवाह गराइदिएका हुन । लक्ष्मीधरले ६ वर्ष अघि जेठो छोरा धुब्र गौतम र धना न्यौपानेको धुमधानका साथ विवाह गराएका थिए ।
२७ वर्षीय धुव्रको तीन वर्ष अघि करेन्ट लागेर मृत्यु भएपछि लक्ष्मीधरले परिवारको सहमतिमा बुहारीको अर्को विवाह गराएका हुन । बुहारी धनाको भविष्यका लागि सैनामैना रामापुर कलौनीका अमृत पौडेलसंग कन्यादान दिएर अन्माएका हुन । धना र अमृतको विवाह गत शुक्रवार सामाजिक परम्पराअनुसार बुटवलस्थित एक पार्टी प्यालसेबाट गरिएको हो । धनाको वैवाहिक समारोह सकेपछि ५४ वर्षका लक्ष्मीधरले धनाको जीवनलाई सुखी र खुसी देख्नको लागि बुहारीकै इच्छाअनुसार विवाह गरिदिएको बताउनुभयो । नेपाली समाजले परम्परागत र रूढिवादी संस्कारबाट मुक्ति पाइरहेको उदाहरणका रुपमा यो विवाहलाई यस क्षेत्रमा धेरैले लिएका छन । लक्ष्मीधर इजरायलमा रोजगारीको लागि मजदुरी गर्थे ।
जेठो छोरा धुब्रले सैनामैनामा इलेक्ट्रिक पसल सञ्चालन गर्थे ।
विक्रम सम्बत २०७४ मा झापाको विर्तामोडकी धनासंग उनको प्रेम विवाह भएको थियो । २०७७ फागुनमा छिमेकीको घरमा पंखा बनाउन गएका धुब्रको करेन्ट लागेको मृत्यु भएको थियो । विवाह भएको तीन वर्ष भए पनि धुब्र र धनाबाट बालबच्चा जन्मिएका थिएनन । अमृत साउदी अरेबियाको एक कम्पनीमा कार्यरत रहेका गौतम परिवारले जनाएको छ । विवाहको लागि उनी केही समय अघि मात्रै घर आएका हुन । उनी पहिलो श्रीमतीसंग सम्बन्ध विच्छेद गरेर बसेका बताइएको छ । धनाको विवाहमा माइतीलाई झापामा खबर गरे पनि उनीहरू भने सहभागी बनेका थिएनन । धनाले सैनामैना क्षेत्रमा केवल नेटवर्कमा काम गर्दै आएकी छिन । अमृतसंग उनको केही समय अघिदेखि चिनजान भएको थियो । अमृत र धनाको दुवैको खुसीको लागि यो विवाह जुरेको हो ।