दाङमा करेन्ट लागेर मृत्यु भएको परिवारलाई सरकारले २४ लाख सहयोग गर्ने

बुटवल। दाङमा करेन्ट लागेर मृत्यु भएका एकै घरका तीनजनाका परिवारलाई सरकारले २४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयबाट प्रत्येकलाई रु एक÷एक लाख, जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रत्येकलाई रु दुई÷दुई लाख, नेपाल विद्युत् प्राधिकरण लमहीद्वारा जनही रु पाँच÷पाँच लाख सहयोग गर्ने सहमति भएको हो।

पीडित र पीडक पक्षबीच आइतबार भएको सहमतिअनुसार मृतक परिवारका सदस्य राप्ती गाउँपालिका–३ मसुरिया निवासी लालबहादुर केसीलाई योग्यताबमोजिम नेपाल विद्युत् प्राधिकरणमा रोजगारको व्यवस्थापन गर्ने सहमति पनि भएको छ।

पीडित पक्षका घाइतेको उपचारमा लागेको खर्च, दाहसंस्कार तथा किरिया खर्चका लागि ६० हजार तथा थप राहतका लागि पालिकाको सिफारिसमा नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिसमक्ष पेस गर्ने सहमति भएको छ।

त्यसैगरी, पीडित परिवारलाई नगद राहत उपलब्ध गराउने तथा पीडित परिवारकी मृतक दिलसरा केसीको छोरी ईश्वरी सुनारलाई कक्षा १० सम्म राप्ती गाउँपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ। पीडित पक्षले आज पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । विद्युतको लाइन चँुडिएर करेन्ट लाग्दा शनिबार एकै घरका तीनजनाको मृत्यु भएको थियो।

हाइटेन्सन लाइनको विद्युत्को तार चुँडिएर करेन्ट लाग्दा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उनका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको हो।

दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको थियो। घाइते ६० वर्षीय गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation