काठमाडौं । नेकपा (एमाले) ले पार्टी निर्माणका १३ वटा समस्या औंल्याएको छ। शनिबारबाट ललितपुरको गोदावरीमा सुुरू भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी निर्माणका समस्यालाई सूत्रबद्ध गरेका हुन्।
‘नेकपाकालमा नेकपा (एमाले) को व्यवस्थित संगठन प्रणाली भत्किन पुग्यो। पार्टी एकतासँगै ठूलो आकारको केन्द्रीय कमिटी गठन भयो। पार्टीका आधारभूत तहका संगठनहरू, पार्टी सम्बद्ध जनसंगठनहरू, विभागहरू र केन्द्रीय निकायहरू सबै विघटित गरिए। तीन महिनाभित्र एकता प्रक्रियालाई पूर्णता दिने भनिए पनि तीन वर्षसम्म पार्टी एकताले पूर्णता पाउन सकेन। पार्टी एकताले पूर्णता नपाउँदै पार्टी नेतृत्व अन्तरसंघर्षको दलदलमा फस्न पुग्यो। उक्त दलदलबाट पार्टीलाई बाहिर निकाल्ने क्रममा पार्टी पुनर्गठनको नयाँ प्रक्रिया सुरु भयो। यतिवेला पार्टी संगठनात्मक शून्यताको सुरुङबाट बाहिर निक्लिएको छ,’ महासचिवको प्रतिवेदनमा भनिएको छ।
विगतको व्यवस्थित, वैज्ञानिक संगठन प्रणाली र पार्टी शैलीलाई स्थापित गर्ने प्रक्रिया सुरु भएको बताउँदै तथापि संगठन निर्माणमा विभिन्न समस्या रहेको बताइएको छ। अहिले पार्टी कार्यकर्तामा अध्ययन र प्रशिक्षणको कमी रहेको औंल्याइएको छ। पार्टी सदस्यताको मापदण्डको पालना, ठूला आकारका कमिटीहरूको सञ्चालन, वैधानिक व्यवस्थाअनुसार अधिवेशनको आयोजना र व्यवस्थापनको समस्या रहेको बताइएको छ।
त्यस्तै दक्षिणपन्थी अवसरवाद, संगठनात्मक अराजकता र गुटबन्दी बढेको, गैर—भौगोलिक क्षेत्रका कामको संयोजन हुन नसकेको, पार्टी काम र कार्यकर्ताको मूल्यांकनको समस्या रहेको किटान गरिएको छ।
पार्टीका कार्यकर्ता पहिचानका मुद्दामा केन्द्रित हुन थालेको, पार्टी कामको दोहोरोपनाको समस्या रहेको पनि बताएएको छ।
काठमाडौं उपत्यकामा पार्टी कामको व्यवस्थापनमा समस्या देखिएको, परिभाषित काम र परिणाममुखी कार्यविभाजन हुन नसकेको, जनसंगठनको प्रभावकारी परिचालन नभएको र आदर्श र व्यवहारबीच तालमेल नदेखिएको महासचिवले औंल्याएका छन्।
महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा आइतबार समूहगत छलफल हुनेछ। समूहगत छलफलको निष्कर्ष टोली नेताहरूले सुनाउनेछन्। टोली नेताहरूले उठाएको प्रश्नमा नेताहरूले जवाफ दिएपछि निष्कर्षसहित बैठक समापन हुनेछ।