उपकार अनलाइन, सैनामैना ।
सैनामैना नगरपालिका स्थानीय विकास कोषको आयोजनामा अध्यक्ष मेनेजरहरुको ४६ औं भेला तथा स्थानीय बिकास कोष सञ्चालक समितिका पूर्व पदाधिकारीहरुलाई सम्मान गरिएको छ । आईतबार आयोजित भेला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले स्थानीय बिकास कोषको कार्यक्रममार्फत स– साना उद्यमीहरु, कृषकहरु, व्यवसायीहरु स–सानो पुँजीबाट आत्मनिर्भर बन्न सफल भएको बताउनु भयो ।
कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले आत्मनिर्भर हुने खालका कार्यक्रम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले महिला दिदी बहिनीहरुमा सचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिदै हामी सचेत भयौं भने हाम्रो घर परिवार समाजमा त्यसको सकारात्मक प्रभाव पर्ने र सचेतीकरणमा ठूलो सहयोग पुग्ने बताउनु भयो ।
त्यस अवसरमा स्थानीय विकास कोषका पूर्व पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पूर्व अध्यक्ष जिबाखर चापागाई, उपाध्यक्ष चन्द्रमाया खत्री र सदस्यहरुमा परशुराम सापकोटा, अजिता पाण्डे, प्रेमप्रसाद घिमिरे, दुलबहादुर थारु र मुना बिक तथा ऋण परिचालन समिति संयोजक चन्द्रमणि घिमिरे हुनुहुन्थ्यो । त्यसैगरी स्थानीय विकास कोषको ऋणबाट व्यवसाय गरी आयआर्जन गर्न सफल सैनामैना १ तिनाउ सामुदायिक संस्थाकी मेनेजर मैया लम्साललाई पनि सम्मान गरिएको छ ।
स्थानीय विकास कोष प्रमुख लक्ष्मी खनालको संचालनमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मिना बस्यालले गर्नुभएको थियो । कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, नगर कार्यपालिका सदस्य सुरज बराल, परशुराम सापकोटा र मैया लम्सालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।