गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो, दुई जना घाइते

गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनामा आज बिहान घर माथिबाट गएको पहिरोले विष्णु विक र हुकुम विकको घर पुरिएको हो । पहिरोमा पुरिएर बिसौनाका ४० वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मुसुरी विक र साढे दुई वर्षकी रियन्सी विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजन भुजेलले जानकारी दिए ।

यस्तै पहिरोमा पुरिएर विष्णु विक र नुना विक घाइते भएका थिए । उनीहरु दुई जनाको स्थानीयवासीले उद्धार गरेका थिए । अहिले उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी पौदी अमराईबाट टोली घटनास्थलमा पुगिसकेको र जिल्ला प्रहरी कार्यालय पनि टोली घटनास्थलतर्फ लागेको छ । गुल्मीलगायत देशभर गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation