दशैँका लागि असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाण्डौ । दशैँका लागि सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ यही असोज १२ गते शनिवारदेखि खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको आजको बैठकले अग्रिम टिकट बुकिङको मिति तय गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । दशैँका लागि कति वटा गाडी चलाउने भन्नेबारे यातायात व्यवसायी महासङ्घले केही दिनमा निर्णय गर्ने उनले बताए ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाडपछि भाडा समायोजन गर्नेसहितका सहमति भई अग्रिम बुकिङ खुलाउने निर्णय भएको थियो ।

यस वर्षको दशैँ यही असोज १७ गते बिहीवारदेखि शुरू हुँदैछ । दशैँको मुख्य दिन विजयादशमी असोज २६ गते शनिवार परेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation