रुपन्देहीमा कुटपिटबाट एक जनाको मृत्यु, ३ जना पक्राउ

रूपन्देही । मायादेवी गाउँपालिका–७ बैरीहवा बस्ने ३५ वर्षीय राजु सहानीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय राजकुमार कुर्मी, २२ वर्षीय सुरज कहार र ५२ वर्षीय बहराई कहार रहेका छन् ।

पुरानो रिसइवीको कारण उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका राजुको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रूपन्देही र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले कुटपिटमा संलग्न हाल फरार सोही ठाउँ बस्ने २१ वर्षीय अजय सहानीको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation