सत्यवती मेलामा हालसम्मकै बढी भक्तजनले गरे दर्शन, करिब ३३ लाख भेटी संकलन

बुटवल । पाल्पाको तिनाउमा चिच्याएर बर माग्ने सत्यवती मेलाबाट यो वर्ष ३२ लाख ८१ हजार ८ सय ७० रुपैंया भेटी संकलन भएको छ । नगदसँगै करिब १० लाल सुन समेत संकलन भएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले यसपाली जोग परेका कारण अनुमान गरे भन्दा धेरै भक्तजनहरु आएको बताउँदै उनले व्यवस्थापन गर्न केही समस्या भएको बताए । उनले २ लाख भक्तजन आउँछन् भनेर अनुमान गरेकोमा ३ लाख बढी भक्तजन आएकाले ट्राफिक व्यवस्थापन गर्न समस्या भएको बताए ।

बढी भिडभाडका कारण भक्तजनलाई पर्न गएको अप्ठेरोप्रति गाउँपालिका क्षमाप्रार्थी रहेको र आगामी वर्ष व्यवस्थापनमा विशेष ध्यान दिने श्रेष्ठले बताए । सत्यवती देवीले कानले नसुन्ने भएकाले वर माग्दा चिच्याएर एउटा मात्र माग्नुपर्ने जनविश्वास छ ।

सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमामा मेलामा हजारौँ भक्तजन बर माग्ने मेलामा सहभागी हुने गर्दछन् ।

बर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी लगायतको बली चढाउनुका साथै परेवा उडाउने प्रचलन रहेको छ ।यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको स्थानीयहरु बताउँछन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation