कपिलवस्तु । १५औं कपिलवस्तु महोत्सवमा सुरक्षा व्यवस्था कडा हुने भएको छ । महोत्सव स्थलमा शान्ति सुरक्षा कायम गर्न सिसिटिभि क्यामेराको निगरानीदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने शान्ति, सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति संयोजक राजेन्द्र विक्रम शाहले बताए ।
कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको १५ औं कपिलवस्तु महोत्सवमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउँदै दर्शकहरुलाई सुरक्षित महसुस गराउन आयोजक प्रतिवद्ध रहेको उनले बताए । दैनिक २० देखि २५ वटा सिसिटिभि क्यामेराद्धारा प्रत्यक्ष निगरानी राखिने उनले जानकारी दिए । महोत्सव अवधिभर शान्ति सुरक्षा कायम गर्न सशस्त्र, प्रहरी, सेक्युरेटी कम्पनी र विभिन्न स्थानीय संघसंस्थासंग अन्तरक्रिया गरिएको उनले बताए ।
सेक्युरेटी कम्पनीले ४५ जना सेक्युरेटी गार्डहरु परिचालन गरि व्यवसायीहरुलाई सुरक्षा प्रदान गर्ने उनले जानकारी दिए । उनका अनुसार महोत्सवअवधिभर ईलाका प्रहरी कार्यालय पिपरा, सशस्त्र व्यस क्याम्प पिपरा र अनुसन्धान कार्यालय तौलिहवाले बाहिरी सुरक्षा दिने छ ।
आयोजकले दर्शकहरुको उचित व्यवस्थापनका लागि ४० जना स्वयम्सेवक परिचालन गर्ने उनले बताए । उनले यस क्षेत्रमा रहेको पानी परिक्षण केन्द्रबाट परिक्षण गरेर मात्र आम दर्शकलाई निःशुल्क शुद्ध, स्वच्छ पानी उपलब्ध गराईने बताए । विगतका महोत्सवहरुमा गहना हराउने, घक्काघक्की तथा हुलदंगा जस्ता अवाञ्छित गतिविधि हुने गरेको बताउँदै उनले भने, ‘सम्भावित घटनालाई मध्येनजर गर्दै त्यसलाई रोक्न पूर्वतयारीसहित आयोजक सजक छ ।’
महोत्सवमा हुलदंगा गर्न खोज्नेलाई तत्काल नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाईने उनले बताए । यस क्षेत्रका उद्योगी, व्यवसायी, संघसंस्था, राजनितिक दल, समाजसेवी, बुद्धिजीवि एकबद्ध भएर महोत्सवको तयारीमा जुटेकाले महोत्सव ऐतिहासिक हुने उनको दाबी छ ।
यही मंसिर १९ गतेदेखि पौष २ गतेसम्म कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा १५ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुदैं छ । महोत्सव बाणगंगाको चारनम्बरमा अवस्थित बुद्धरंगशालामा हुन लागेको हो । आयोजकले विभिन्न समिति, उपसमितिमार्फत महोत्सवको तयारीलाई तीब्र बनाएको छ ।