उपकार अनलाईन, सैनामैना ।
स्टार स्पोर्टस क्लब सैनामैना ७ को आयोजनामा छैठौ जिल्लास्तरीय खुला नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ । मंसिर १५ देखि १२ दिनसम्म हुने प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, पाल्पा लगायत जिल्लाका टिमले सहभागिता जनाउने भएका छन ।
प्रतियोगिताको संरक्षकमा सैनामैना नगरपालिका रहेको छ भने र सैनामैना नगरपालिका वडा नं. ७ र रुपन्देही त्रिकेट संघ रुपन्देही सहयोगी भूमिकामा रहेको छ ।
सैनामैना ७ को लम्टैयाको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा तीन बर्षपछि क्रिकेट प्रतियोगिता हुन लागेको प्रतियोगिताका संयोजक कृष्ण ज्ञवालीले बताउनुभयो । उहाँले जिल्लास्तरीय क्रिकेट प्रतियोगिता भएकोले प्रतियोगितामा रुपन्देही लगायतका जिल्लाबाट १२ देखि १५ टिम सहभागी हुने जानकारी दिनुभयो ।
प्रतियोगिताका आयोजक स्टार स्पोर्टस क्लबका अध्यक्ष खिमराज पोखरेलले खेल र खेलाडीलाई उर्जा प्रदान गर्न पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भन्दै पत्रकार, खेलाडी र आयोजकबीच नङ र मासुको सम्बन्ध भयो भने खेल सफल हुने बताउनुभयो । उहाँले यो खेल प्रतियोगितालाई जसरी हुन्छ सफल बनाउन सवैको साथ र सहयोगको अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५, दोश्रो पुरस्कार २५ हजार ५ सय २५, म्यानअफ दि म्याचलाई प्रत्येक खेलमा ५ सय नगद, म्यान अफ दि सिरिजलाई तीनहजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई दुई दुई हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।