विमल गैरे, सैनामैना ।
सामुदायिक विद्यालयहरूको शिक्षा प्रणालीमा देखिएको दुई ध्रुवीय स्वरूपले समाजमा नयाँ किसिमको विभेद सिर्जना गरेको छ । एउटै विद्यालयभित्र गरिबका छोराछोरी नेपाली माध्यममा पढिरहेका छन् भने आर्थिक रूपमा सबल अभिभावकका छोराछोरी अंग्रेजी माध्यममा पढिरहेका छन् । यो स्थिति नेपालका हरेक सामुदायिक विद्यालयहरूमा देखिएको छ ।
एउटै विद्यालयमा शिक्षाका दुई माध्यम सञ्चालन हुनु सकारात्मक अवसरका लागि सुरु भए पनि यसले बालबालिकाको मनोविज्ञानमा गहिरो असर पारिरहेको छ । एउटै कक्षा भएपनि घरबाट संगै विद्यालय हिडेका साथीहरु विद्यालय पुगेपछी भने दुइ तिर बाडीन्छन यो असमानतालाई समयमै सम्बोधन गरेर समानता र एकताको वातावरण सिर्जना गर्न सकेमात्र बालबालिकाको सन्तुलित मानसिक विकास सम्भव हुनेछ ।
सामुदायिक विद्यालयहरूमा अंग्रेजी माध्यमको पठनपाठनको सुरुवातले अभिभावकहरूको ठूलो हिस्सा आकर्षित गरेको छ । तर, अंग्रेजी माध्यममा पढ्न चाहने विद्यार्थीहरूको लागि अतिरिक्त शुल्क र अन्य सेवा सुविधाका कारण गरिब अभिभावकहरूका लागि यो सहज छैन । फलस्वरूप, गरिबका छोराछोरी नेपाली माध्यममा सीमित भइरहेका छन्, जसले गर्दा एउटै विद्यालयभित्रै दुई थरी विद्यार्थी वर्ग निर्माण भइरहेको छ ।
अंग्रेजी माध्यममा पठनपाठन गराउन विद्यालयहरूले विद्यालयहरुमा सुविधासम्पन्न वातावरण सिर्जना गरेका छन् । लोक सेवा पास गरेका शिक्षक भएपनि नेपाली माध्ययमा पढ्ने विद्यार्थीहरुलाई त्यति चासो दिएको पाइदैन फेरि तिनै लोक सेवा पास गरेका शिक्षकले अग्रेजी माध्ययममा चासोका साथ पढाउने अनि विद्यार्थीहरुबाट शुल्क उठाउने यो सामुदायिक विद्यालयहरुको अचम्मको खेलो कसैले देखेन । यदि सामुदायिक विद्यालयले साच्चिकै अग्रजी माध्यम सुरु गरेको हो भने गरिवका छोराछोरीहरुले पनि किन अग्रेजी माध्यममा पढ्न पाएनन् ? यसले गर्दा गरिव वर्गका छोराछोरीको भविस्य अन्धकार पार्ने देखिन्छ ।
यो दुई थरी शिक्षा प्रणालीले विद्यालयहरूभित्रै विभेद सिर्जना गर्दैछ । एकातिर नेपाली माध्यमका विद्यार्थीहरूलाई कम क्षमता भएक रूपमा हेरिन्छ भने अर्कोतर्फ अंग्रेजी माध्यमका विद्यार्थीहरूलाई प्रतिभावानका रूपमा लिइन्छ । यो सोचाइले विद्यालयमा मात्र नभएर समाजमा पनि आर्थिक र सामाजिक वर्गीय विभाजनलाई थप बल पु¥याइरहेको छ
यस समस्याको समाधानका लागि स्थानिय सरकार र सरोकारवालाले ध्यान दिनुपर्ने देखिन्छ । समान पाठ्यक्रम र गुणस्तरीय शिक्षाः सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रणाली लागू गर्दै सबैका लागि समान पाठ्यक्रम सुनिश्चित गर्न आवश्यक छ । सामुदायिक विद्यालयहरूमा भइरहेको यो दुई थरी शिक्षा प्रणालीले केवल शिक्षामा मात्र नभई समाजको समग्र विकासमा चुनौती खडा गरिरहेको छ । यो विभेदलाई समयमै सम्बोधन गर्न सके, भविष्यमा नेपालले साक्षर र समान समाज निर्माणको यात्रामा सफलता पाउनेछ।