सैनामैना दुधराक्ष कपको ट्रफी सार्वजनिक: उद्घाटन मुख्यमन्त्री आचार्यले गर्ने

सैनामैना । रुपन्देहीको सैनामैनामा शुक्रबार (भोलिबाट) सुरु हुने दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ । आज प्रतियोगिताको तयारी बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको हो ।

प्रतियोगिताको ट्रफी अनावरण तथा दुधराक्ष युवा क्लको जर्सी सार्वजनीक क्लबका अध्यक्ष किरण पोख्र्रेल, प्रमुख अतिथी सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र प्रसाद शर्मा, विशिष्ठ अतिथी सैनामैना नगरपालिकाका उपप्रमुख विना राना, राजनितीक दलका प्रमुखहरु, वडाध्यक्षहरु, सैनामैना खेलकुद विकास समितिका अध्यक्ष लगायतले संयुक्त रुपमा गर्नुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उपप्रमुख रानाले खेलकुद मार्फत सैनामैनालाई चिनाउन मद्दत गरेकोमा दुधराक्ष युवा क्लबलाई धन्यवाद दिनुभयो । उहाँले प्रतियोगिता सञ्चालन गर्दा पुरुष मात्रै धेरै जोडिने गरेको भन्दै महिलाहरुलाई पनि समावेश गर्ने गरि कार्यक्रमहरु गर्न आग्रहसमेत गर्नुभयो ।

त्यस्तै, प्रमुख अतिथी शर्माले पनि प्रतियोगिताको सफलताको शुभकामना दिदैँ राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्दा समन्वय गरेर सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले सैनामैनामा एक साथ दुई ठूला राष्ट्रिय स्तरका प्रतियोगिता हुन लागेकोमा खुसी ब्यक्त गर्दै समन्वय गरेर अघि बढे बजेट व्यवस्थापना सहज हुने बताउनुभयो । उहाँले छिमेकी पालिकाहरुले पनि प्रतियोगितामा सहभागिता जनाएको सहयोग गर्न अपिल गर्नुभयो ।

पत्रकार सम्मेलनमा प्रतियोगितामा ७ टोली सहभागी हुने प्रतियोगिताका संयोजक राजकुमार चौधरीले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रतियोगिताको बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३, तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैँया, मेडल र प्रमाण–पत्र तथा सान्त्वना हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैँया, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

त्यस्तै, विद्यागत तर्फ उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार ७ सय ७७ रुपैँया र सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्ने छन् । फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको शुक्रबार बिहान ११ बजे लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation