
सैनामैना । मणिमुकुन्द भलिबल क्लबले लगतार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा गल्कोट भलिबल क्लबलाई हराउँदै मणिमुकुन्दले दोस्रो जित दर्ता गरेको हो ।
रुपन्देहीको सैनामैना ६ कलौनीमा जारी सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो खेलमा मणिमुकुन्दले गल्कोटलाई ३–१ को सेट अन्तरले हरायो ।
प्रतिस्पर्धात्मक भएको पहिलो सेट २८–२६ ले गुमाएको मणिमुकुन्दले त्यसपछिका तीन सेट आफ्नो पक्षमा पार्न सफल भयो । मणिमुकुन्दले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–२१ र चौँथो सेटमा २५–२१ अंक जोड्दै जित हात पार्न सफल भयो ।
अब भोलि देखि प्रतियोगितामा दुई खेल हुने आयोजक दुधराक्ष युवा क्लबले जनाएको छ । आयोजकले दिएको जानकारी अनुसार भोलि हुने पहिलो खेलमा बिहान ११ बजे कोशी प्रदेश भलिबल क्लब र गल्कोट भलिबल क्लब खेल्नेछन् । दुवै टोली प्रतियोगितामा पहिलो जित हात पार्ने उद्देश्यका साथ मैदान उत्रने छन् ।
त्यस्तै, भोलि हुने दोस्रो खेलमा दुई विभागिय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
शुक्रबारबाट सुरु भएको प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । प्रतियोगिताको बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३, तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैँया, मेडल र प्रमाण–पत्र तथा सान्त्वना हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैँया, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।
विद्यागत तर्फ उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार ७ सय ७७ रुपैँया र सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्ने दुधराक्ष युवा क्लबले जनाएको छ ।