
सैनामैना । सैनामैना गोल्डकपको मुख्य प्रयोजकमा सैनामैना नगरपालिका वडा नम्बर ३ मा रहेको श्री सुनगाभा पब्लिक स्कुल रहने भएको छ । मुख्य प्रयोजकको जिम्मा लिए संगै अव सैनामैना गोल्डकपलाइ सुनगाभा सैनामैना गेल्डकपको नाम दिइने आयोजकले जनाएको छ । शुक्रवार एक कार्यक्रमका बीच श्री सुनगाभा पब्लिक स्कुल र आयोजक मुर्गिया फुटबल क्लब अर्थात् सैनामैना गोल्डकप २०८१ बीच सम्झौता भएको छ।
सो अवसरमा बोल्दै सुनगाभा पब्लिक स्कुलका प्राचार्य तिलव केसीले हाम्रो क्षेत्रमा यति ठूलो प्रतियोगिता भइराख्दा हामी यो प्रतियोगितालाई सम्पन्न गर्नका लागि हदैसम्मको सहयोग गर्न तयारी अवस्थामा रहेको र यस क्षेत्रका उदयमान प्रतिभाले भोलिको दिनमा यो खेल अवलोकन गर्दै गर्दा अवश्य पनि उनीहरूको मानसपटलमा आफू पनि उत्कृष्ट खेलाडी बन्ने लक्ष्य लिएर अगाडि बढ्ने कुरामा दुई मत नभएको र यो प्रतियोगिताले यस क्षेत्रको नामलाई नै राष्ट्रिय स्तरमा फैलाउने हुँदा पूर्णरुपमा सफलताको कामना समेत व्यक्त गर्नुभएको थियो।
त्यस्तै सैनामैना गोल्डकपका खेल संयोजक अशोक खड्काले शिक्षामा विद्यालयले गरेको लगानी नेपाल प्रथम भइसक्दा नै विद्यालयको उत्कृष्ट नतिजा मापन भइसकेको र निरन्तर उत्कृष्ट नतिजा यस विद्यालयले दिइराख्दा फेरि हिजोका दिनमा क्रिकेट भन्दै गर्दा बुटवल पश्चिममा सुनगाभाको नाम सदैव सुनिराखेको हुँदा यसपटक यस विद्यालयले फुटबललाई पनि उत्तिकै चासो दिएको देख्दा यो विद्यालयको समुज्जल भविष्यको कामनासँगै खेल र खेलाडीलाई सम्मान गर्नुभएकोमा विद्यालय परिवारप्रति आभार एवं धन्यवाद प्रकट समेत गर्नुभयो।
विद्यालयका सञ्चालक एवं लेखा प्रमुख हरि पोख्रेलले यो एउटा अवसर भएको र यो अवसर सुनगाभालाई जुरेको हुँदा विद्यालय सदैव यस क्षेत्रका उदयमान कार्यका लागि सधैंभरि अग्रसर भएर साथ, सहयोग गर्ने कुरामा कुनै दुईमत नरहेको र यो खेलको पूर्ण सफलताको कामना समेत गर्नुभयो।
उक्त सम्झौता कार्यक्रममा सैनामैना गोल्डकप २०८१ मा क्लबका अध्यक्ष प्रवीन भारी, अनुगमन समितिका संयोजक सुवास क्षेत्री, आर्थिक संयोजक गोपाल खड्का, आर्थिक सल्लाहकार चित्र केसी, टिकट व्यवस्थापन समितिका संयोजक सुशील पौडेल, टिम व्यवस्थापनका संयोजक श्री दर्लामी र प्रचारप्रसार संयोजक कृष्ण भण्डारीको उपस्थिति रहेको थियो।
त्यस्तै सुनगाभा पब्लिक स्कुल २०५३ सालमा स्थापना भएको र यस विद्यालयले एसइइमा पहिलो वर्षमा नै नेपाल प्रथम भई जिपीए ४।०० अङ्क प्राप्त गर्दै इतिहास समेत रचेको थियो। यस क्षेत्रमा हुने विभिन्न प्रतियोगितामा जिल्ला प्रथम, प्रदेशका विभिन्न प्रतियोगितामा विभिन्न स्थान प्राप्त गर्नुका साथै यस विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सधैंभरि तत्पर रही खेल्दै सिकाउँदै अध्ययनलाई सधैंभरि अगाडि बढाइरहेको कुरा हामी सबैलाई जानकारी भएको नै हो।