सञ्जुले गण्डकी प्रदेश भलिबल टिमको कप्तानी सम्हाल्ने

पोखरा । सञ्जु विक्रम शाहले गण्डकी प्रदेश भलिबल टिमको कप्तानी सम्हाल्ने भएका छन् । गण्डकी प्रदेश भलिबल संघको शनिबार सम्पन्न बैठकले उनलाई कप्तानीको जिम्मेवारीमा मनोनयन गरेको हो ।

यस अघि टिमको कप्तानी सम्हालेका खोम प्रसाद पाण्डे ‘हरि’ले टाइगर कप भलिबल प्रतियोगिता सम्पन्न भए लगतै सन्यास लिएका थिए । उनले कप्तानीबाट सन्यास लिए संगै संघले सञ्जुलाई सो जिम्मेवारी सुम्पिएको संघका महासचिव एवं अन्तर्राष्ट्रिय एभिसी भलिबल रेफ्रि टहल सिंह थापाले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

यसै बीचमा सञ्जुको कप्तानीमा गण्डकीले दुईवटा प्रतियोगिताहरुमा सहभागिता जनाउने भएको छ । बुटवलको सैनामैनामा यहि फागुन २५ देखि माघ ३ गते सम्म हुने ‘दोस्रो सैनामैना दुधराक्ष कप’ र फागुन १० देखि १४ गते सम्म रोल्पामा आयोजना हुने प्रतियोगितामा गण्डकी प्रदेश भलिबल टिमले सहभागिता जनाउने भएको महासचिब थापाले जानकारी दिए ।

संघले ‘दोस्रो सैनामैना दुधराक्ष कप’मा सहभागिता जनाउने टोलीको घोषणा समेत गरेको छ । सञ्जुको कप्तानीमा मैदानमा उत्रिने टोलीमा हिमाल सुनारी, सुपेन्द्र परियार, विवश आले, इन्द्र विक, कुञ्जन शाही, राजन दर्लामी मगर, उमेश सेन्चुरी, विश्वास अधिकारी र अशोक श्रेष्ठ रहेका छन् ।

टोलीको प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा किरण गुरौं र व्यवस्थापकमा पूर्ण बहादुर गुरूङ ‘जापान’ रहेका छन् ।

यसै गरी सम्पन्न बैठकले पोखरामा दोस्रो प्रदेश कप आमन्त्रित क्लब पुरूष च्याम्पियनसिप प्रतियोगिताको तयारी समेत सुरू गर्ने जनाएको छ । उक्त प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा हुने महासचिव थापाले पोखरा स्पोर्टसलाई बताए ।

यसै गरी बैठकले कार्यसमिति सदस्य गजेन्द्र वमलाई संघको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको छ । उनी कार्यसमितिको कुनै पनि बैठकमा उपस्थित नरहेको संघले जनाएको छ । यसका साथै बैठकले हालै सम्पन्न पाँचौ टाइगर कप भलिबल प्रतियोगितामा भएको आय–व्यय विवरण केही दिनमा नै सार्वजनिक गर्ने जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation