सैनामैना दुधराक्ष कपः आर्मी र पुलिस फाइनल प्रवेश

सैनामैना । सैनामैनामा जारी सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्बल र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । बिहिबार भएको सेमिफाइनलका खेलमा जित हासिल गर्दै दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् । आज भएको पहिलो सेमिफाइनल खेलमा मणीमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटले पराजित गर्दै आर्मी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५–१७ ले जितेको आर्मीले दोस्रो सेट २४–२५ ले गुमाएको थियो भने तेस्रो सेट २५–१७ अंकले पुनारागमन गर्दै चौथो सेट २५–१७ ले जित्दै आर्मी फाइनलमा पुगेको हो ।

यस्तै आजै भएको अर्को सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ । पहिलो सेट २५–१७, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१८ ले जित्दै पुलिसले फाइनलको यात्रा तय गरेको हो । भोलि तेस्रो स्थानका लागि बिहान १२ बजे मणीमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशबिच खेल्नेछन् भने फाइनल प्रतिस्पर्धा  शनिबार बिहान १२ बजे त्रिभुवन आर्मी क्बल र नेपाल पुलिस क्लब भिड्ने खेल संयोजक राजकुमार चौधरी जानकारी दिनुभयो ।

प्रतियोगिताको बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३, तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैँया, मेडल र प्रमाण–पत्र तथा सान्त्वना हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैँया, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् । यसका साथै, उत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ ,स्पाईकर ,डिफेन्डरलाई ,ब्लकर, सेटर, प्रशिक्षकलाई पनि ७ हजार ७ सय ७७ रुपैँया गरी बिभिन्न विधाहरुमा पनि विशेष पुरस्कार प्रदान गरिने व्यबस्था गरिएको आयोजकले जानकारी गराएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation