
टेकराज भुसाल, अर्घाखाँची।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्ग झाक्रिशाला रङ्गशालामा सम्पन्न अन्तर वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मालारानी गाउँपालिका ८ हंसपुरले जितेको छ भने महिला भलिबल प्रतियोगिताको उपाधि सन्धिखर्क नगरपालिका २ ले जितेको छ।
भूमिकास्थान-२ ढाकावाङ्ग देविकास्थान झाक्रिशाला टोल विकास संस्थाले वडा स्तरीय खुल्ला पुरुषरमहिला भलिबल प्रतियोगिता आयोजना गरेको हो।
बुधबार भएको पुरुष तर्फको फाइनल खेलमा आयोजक देविकास्थान झाक्रिशाला टोल विकास संस्थालाई ३-० सोझो सेटमा पराजित गर्दै मालारानी गाउँपालिका ८ हंसपुरले उपाधि जितेको हो।
प्रतियोगितामा सहभागी पुरुष २४ टिम मध्य फाइनलमा हंसपुरसँग पराजित आयोजक देविकास्थान झाक्रिशाला टोल विकास संस्थाले दोस्रो स्थानमा चित्त बुझाएको छ भने भूमिकास्थान-४ धारापानी तेस्रो भएको छ।
बुधबार नै भएको महिला तर्फको फाइनल खेलमा भूमिकास्थान-५ असुरकोटलाई २-० सोझो सेटमा पराजित गर्दै सन्धिखर्क २ ले उपाधि जितेको हो।
प्रतियोगितामा सहभागी महिला १० टिम मध्य फाइनलमा सन्धिखर्क २ सँग पराजित भूमिकास्थान-५ ले दोस्रो स्थानमा चित्त बुझाएको छ भने आयोजक देविकास्थान झाक्रिशाला टोल विकास संस्था तेस्रो भएको छ।
प्रतियोगितामा पुरुष तर्फ प्रथम स्थान हासिल गरेको मालारानी-८ हंसपुरले नगद रु २५ हजार, द्वितीय भएको आयोजकले नगद रु १५ हजार र तृतीय भएको भूमिकास्थान-४ धारापानीले नगद रु १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा महिला तर्फ प्रथम स्थान हासिल गरेको सन्धिखर्क-२ ले नगद रु ८ हजार, द्वितीय भएको भूमिकास्थान-असुरकोटले नगद रु ५ हजार र तृतीय भएको आयोजकले नगद रु ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
भूमिकास्थान-२ का वडा अध्यक्ष बुद्धि बहादुर थापा, कार्यपालिका सदस्य केशरा परियार वडा सदस्य नारायण खनाल, नगरस्तरीय युवा संजाल भूमिकास्थानका संयोजक टेकराज भुसाल, विश्व मावि ढाकावाङ्गका शिक्षक जुमलाल खनाल र संस्थाका अध्यक्ष जितेन्द्र खत्रीले विजेता खेलाडी र टिमलाई सम्मान सहित पुरस्कृत गर्नुभएको हो।
प्रतियोगिता समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष बुद्धि बहादुर थापाले खेलकुदले समाज सुधारमा महत्त्वपूर्ण भूमिका निवाउने उल्लेख गर्दै खेल क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।