
सैनामैना । रुपन्देहीको सैनामैनामा पहिलोपटक सैनामैना नीति बहस हुने भएको छ ।
“स्थानीय शासनमा पारदर्शिता र जनसहभागिता,नीति तथा कार्यक्रम निर्माणमा दक्षता र विज्ञता” भन्ने मूल नारालाई आत्मसात् गर्दै जेठ १० गते शनिबार बाबरी पार्टी प्यालेस सोरौली मा कार्यक्रम हुने भएको हो ।
निर्वाण कानूनी समाजको आयोजना र श्री सिद्धार्थ मेमोरियल एकेडेमी सैनामैना, ८ को मुख्य प्रायोजनमा हुने कार्यक्रममा युवाहरूको धारणा प्रस्तुत हुने छ ।
जनताको अमूल्य मतदानले निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो गाउँ समाजको लागि उत्कृष्ट नीति एवं त्यसैअनुसारको बजेट ल्याउनुपर्छ भन्ने कुराको महसुुस गराउन कार्यक्रम आयोजना गरिएको निर्वाण कानूनी समाजले जनाएको छ ।
नीति बहस कार्यक्रम कुनै प्रतिस्पर्धा नभई नितान्त सैनामैनाको नीतिलाई राम्रो बनाउने उदेश्यले आयोजना गरिएको नीति प्रस्तुतिकरण गर्ने कार्यक्रम हो ।
नीति बहस कार्यक्रमको लागि कानूनी समाजले शिक्षा, स्वास्थ,कृषि, पूर्वाधार लगायतका विभिन्न क्षेत्रहरुलाई विभाजन गरेको छ जसमा विभिन्न क्षेत्रका युवाहरुले १० मिनेट भित्रमा आफ्नो दक्षता अनुसारको प्रस्तुति दिनुपर्नेछ ।
सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ मा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम उत्कृष्ट बन्नुपर्छ भन्ने उदेश्यले सैनामैना मा पहिलोपटक नीति बहस कार्यक्रम आयोजना गरिएको कानूनी समाजका अध्यक्ष विजय सुनारले बताउनुभयो ।
नेपालको संविधान,२०७२ ले नेपाल संघिय राज्य रुपमा रहने व्यवस्था गरेको छ । संविधानले व्यवस्था गरेको संघियताको मर्मलाई आत्मसात् गर्न समेत कार्यक्रमले सहयोग पुर्याउने विश्वास गरिएको छ ।