तिनाउ पश्चिम वितरक संघद्वारा व्यावसायिक सुरक्षाका लागि सचेतना कार्यक्रम

विमल गैरे, सैनामैना ।
तिनाउ पश्चिम वितरक संघ, सैनामैनाको आयोजनामा तथा लुम्बिनी साना तथा मझौला ढुुवानी व्यवसायी संघ रूपन्देहीको सहकार्यमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
बुधवार सैनामैना २ मा रहेको बाबरी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा तिनाउ पश्चिम वितरक संघले आफ्ना सदस्य व्यवसायीहरूको सुरक्षा सुनिश्चित गर्न र सम्भावित दुर्घटनाबाट हुने जोखिम न्यूनीकरणका लागि बीमा कम्पनी तथा ढुवानी व्यवसायीहरूबीच त्रिपक्षीय अन्तरक्रिया सम्पन्न गरेको हो ।
कार्यक्रममा वितरण व्यवसायमा सक्रिय सदस्यहरूको आर्थिक तथा भौतिक सुरक्षालाई दृष्टिगत गर्दै भविष्यमा हुन सक्ने दुर्घटनाहरूको क्षतिपूर्ति सुनिश्चित गर्न बीमा योजना ल्याउने विषयमा छलफल गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघका अध्यक्ष सुमन सापकोटाले तिनाउ पश्चिम वितरक संघमा आवद्ध व्यवसायीहरु लुम्बिनी साना तथा मझौला ढुुवानी व्यवसायी संघमा आवद्ध वनेमा जस्तो सुकै परिस्थितीमा आफुहरु व्यवसायीको पक्षमा लड्ने बताउनुभयो । तिनाउ पश्चिम वितरक संघको तर्फबाट पनि लुम्बिनी साना तथा मझौला ढुुवानी व्यवसायी संघको कार्यसमितिमा आएर भोलि आफ्ना व्यवसायिहरुमा आउने समस्याहरुको समाधानमा लाग्न सापकोटाले आग्रह गर्नुभयो । तिनाउ पश्चिम वितरक संघलाई अझ मजबुत बनाउन आफूहरू सधैं तयार रहेको सापकोटाको भनाइ छ ।
कार्यक्रममा शिखर इन्स्योरेन्स मुर्गियाका शाखा प्रमुख माधव खनालले बीमाको उद्देश्य नाफा कमाउनु नभई, दुर्घटनामा परेकालाई राहत उपलब्ध गराउनु भएको जानकारी दिनुभयो । बीमा कम्पनीहरू ढुवानी सेवा क्षेत्रमा कसरी सहकार्य गर्न सक्छन् भन्ने विषयमा उहाँले महत्वपूर्ण सुझावहरू राख्नुभयो ।
तिनाउ पश्चिम वितरक संघका अध्यक्ष नरेश न्यौपानेले व्यावसायी साथिहरूले दैनिक रुपमा सामान ढुवानी गर्दा निकै जोखिमपूर्ण परिस्थितिको सामना गर्नु पर्ने, र दुर्घटना भएमा विभिन्न समस्या झेल्नु परिरहेको उल्लेख गर्नुभयो । यसै कारण बीमा कम्पनीहरूसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । साथै, उहाँले संघ सधैं व्यवसायीहरूको हकहित र समस्या समाधानमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रम तिनाउ पश्चिम वितरक संघका अध्यक्ष नरेश न्यौपानेको अध्यक्षता, लेखा संयोजक होमनाथ सुवेदीको स्वागत र महासचिव, विक्रम अर्यालको सञ्चालनमा सम्पन्न भएको हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation