खेलकुद विकासमा प्रयासरत स्थानिय सरकार

कृष्ण भण्डारी, सैनामैना ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष खेल क्षेत्रका लागि ठुलो आकारमा बजेट छुट्याउने गरेको छ । पालिकाका विभिन्न वडामा रहेका मैदानलाई परिस्कृत गर्ने, पुर्वाधार थपेर स्तरोन्नती गर्ने र खेल खेल्न योग्य बनाउने काम भइरहेको छ ।पालिकाभित्रका ठुला मानिएका ८ मैदानलाई उच्चस्तरीय बनाउन पालिकाले मैदान हेरीकन बजेट प्रदान गरिरहेको प्रमुख खेलराज पाण्डेयले बताए । उनले मैदान संरक्षणका लागि पालिका लागेको र त्यसको रेखदेख र आवश्यकता पहिचान गर्ने जिम्मा, वडा, विद्यालय, क्लबले लिने गरेको जनाए । पालिका भित्रका मैदानमा हुने राष्ट्रिय खेलकुदका लागि ४० लाख सम्म बजेट छुट्याएको उपमहानगरले सामान्य प्रतियोगितामा ५ लाख, ७ लाख, १० लाख प्रदान गर्ने गरेको प्रमुख पाण्डेयले बताए । उनका अनुसार पालिकाले ८ वटै मैदानलाई राम्रो बनाउन र जग्गा समेत पालिकाको सरक्षणमा राखी अघि बढ्न प्रकृयागत रुपमा, सुझाव संकलनमा साथै छलफलमा लागिरहेको छ । यहां रहेको एक फुटबल रंगशाला र एक क्रिकेट मैदानलाई पालिकाको बनाउन जमिन साटासाट देखि संघीय सरकारसंग बजेट माग गर्ने काम गरिरहेको उनी बताउंछन् ।

हरेक क्षेत्रमा अब्बल साबित बन्दै गएको तिलोत्तमा नगरपालिकाले संरचना निर्माण गर्नकै लागि बजेट विनियोजन गरेको छैन । भएका मैदानमा खेल गराउंदा मर्मत संभार वा ती मैदानको स्तर वृद्धि गर्दा बजेट दिइने गरेको युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले बताए । उनले २ वर्ष यता खेल पुर्वाधार निमार्ण शिर्षकमा बजेट नराखिएको बताए । हामीले मैदान बनाउने वा थप्ने भन्दा पनि भएका मैदानलाई उच्च स्तरको बनाउन लगानी गरिरहेका छौं, उनले भने, खेलकुदका धेरै कार्यक्रम हुन्छन्, ती सबैमा पालिकाले लगानी गरेकै छ, पुर्वाधार भइरहेकाले त्यो सार्वजनिक सम्पत्तिका रुपमा प्रयोग गर्न पाइरहेकाले समस्या परेको छैन ।

जिल्लाको सिद्धार्थनगर नगरपालिकाले भने आफ्नो मातहतको एक रंगशाला निर्माण गरेको छ । अघिल्ला जनप्रतिनिधीकै पालादेखि प्रयोग भई आएको र संरक्षित वडा न ३, दरखसवा मैदानलाई २ करोड लगानी गरिसकिएको उपप्रमुख उमा अधिकारीले बताइन् । उनका अनुसार उक्त मैदानमा हरेक खालका खेल गतिविधी भइरहेका छन् । ७ विघा क्षेत्रफल रहेको मैदान नगरपालिकाकै संरक्षणमा रहेकाले यसको थप स्तर वृद्धि गर्न संघीय सरकारलाई आग्रह गरिराखेको उनले बताइन् । हामीले डिपीआर नै बनाएर पेश गरेका छौं, उनले भनिन्, यो बाहेकका मैदानमा पनि हाम्रो लगानी नभएको होइन, तर यसलाई पालिकाको भन्न पाइनेगरि विकास गर्दैछौं । उनले पालिकाभित्र रहेका मैदान र खेलकुदमा पालिकाले राम्रो बजेट विनियोजन गर्ने गरेको जनाइन् ।

रुपन्देहीको सैनामैना नगरपालिकाले भने सैनामैना रंगशालालाई संरक्षण गरि आफ्नो मातहतको बनाएको छ । पालिकाले यस वर्षका लागि ८२ लाखको ठेक्का सम्झौता अघि सारी उक्त रंगशालालाई थप परिस्कृत बनाउंदैछ । उक्त रंगशालामा फुटबल, बास्केटबल, भलिबल खेलाउने गर संरचना बनिरहेका छन् । केही समय अघि रंगशालामा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता सम्पन्न भइसकेको छ । पर्रोहा युथ क्लबले जोगाइराखेको जमिनमा मैदान रहेको र त्यसलाई पालिकाले आफुले संरक्षण गर्नेगरि लिएको नगर खेलकुद विकास समितीका संयोजक खिम श्रेष्ठले बताए । उनले पालिकाभित्र रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि पनि पालिकाले सघाउने र संघीय सरकारबाट ५ करोड सहयोग माग गरिएको जनाए ।

यी स्थानिय तह उदाहरण हुन् । रुपन्देहीका १६ वटै पालिकाले स्थानिय मैदानमा हुने खेल, विद्यालय स्तरका टुर्नामेन्टका लागि पालिकाले प्रदान गर्न सक्ने बजेट सहयोग गरिरहेका छन् । पहिले संघीय सरकार अन्तर्गत भइरहेका खेल र मैदानको मर्मत संभार स्थानिय सरकारले नै गरिदिन थालेका छन् । पालिका पिच्छे बजेटको आकार फरक हुने भएकाले जति सकिन्छ त्यहीं आधारमा बजेट विनियोजन गर्ने काम पालिकाले गरिरहेको छ । मैदानमा आवश्यक माटो पटाउने, तारबार, जाली लगाउने, प्याराफिट निर्माण, शौचालय निर्माण, ड्रेसिङ रुम आदि काम समेत स्थानिय सरकारको सहयोगमा भइरहेको छ । स्थानिय तह स्थापना पछि गाउं गाउंमा रहेका घांसे मैदान सफा हुनुका साथै प्रयोगमा अँएका छन् । स्थानिय स्तरका प्रतियोगिता, सिकाई ले मैदानलाई, पुर्वाधारलाई प्रयोगमय बनाएको छ ।

लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरन गौतम खेल क्षेत्रमा पुर्वाधार निर्माणको गतिले राम्रो सम्भावना भित्र्याएको बताउंछन् । उनले हुंदै नहुनुभन्दा भइरहेको कामको प्रशंसा गर्नुपर्ने बताए । हरेक प्रदेशमा एउटा अन्तर्राष्ट्रिय खेल मैदान बनाउन सकेमा खेल क्षेत्रको विकास र खेलाडी उत्पादनले पुर्णता पाउंदै जाने देखिन्छ, उनले भने, नेपालमा खेलाउनुपर्ने खेल यहां मैदान नहुंदा अन्यत्र लगेर खेलाइएको रेकर्ड हाम्रो छ, त्यसैले मैदान र पुर्वाधार त जति बनायो त्यती राम्रो हो । यसका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानिय तहको समन्वय जरुरी रहने उनको भनँई छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation