
उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिकाको शैक्षिक क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि थपिएको छ । अबदेखि सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा कानुन विषय पढाइ सुरु गरिने भएको छ । यस अघि उक्त विद्यालमा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, कम्प्युटर विज्ञान, शिक्षा (मुख्य गणित, प्रमुख अंग्रेजी, प्रमुख नेपाली, प्रमुख स्वास्थ्य) विषय पढाइ हुदै आएको थियो ।
कानुन विषय थपिय संगै शिक्षा, न्याय, समाज र नेतृत्वमा रुचि राख्ने विद्यार्थीहरूका लागि सुनौलो अवसर हुने विश्वास गरिएको छ । विद्यालय प्रशासनका अनुसार यस विषयले आगामी दिनमा सक्षम कानुनविद्, सामाजिक नेतृत्त्वकर्ता र न्यायप्रेमी नागरिक उत्पादनमा टेवा पुर्याउनेछ ।
विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले भन्नुभयो, “अब हाम्रा विद्यार्थीहरूले कानुन विषयको अध्ययन यहीँ बसेर गर्न पाउने छन् । यसले विद्यार्थीहरूमा न्यायबोध, अधिकारको चेतना र नेतृत्व क्षमता अभिवृद्धि गर्नेछ ।”










