सैनामैनामा सामुदायिक विद्यालयको उत्कृष्टताः ४ जिपिए ल्याउनेमा सैनामैना मावि अग्रणी

विमल गैरे, सैनामैना ।
सैनामैना नगरपालिकामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा सामुदायिक विद्यालयहरूले संस्थागत विद्यालयले भन्दा प्रभावशाली प्रदर्शन गरेका छन् । ४ जिपिए हासिल गर्ने सैनामैनाका १० जना विद्यार्थीमध्ये ६ जना सामुदायिक विद्यालयबाट छन् भने ४ जना संस्थागत विद्यालयबाट मात्र छन् ।

सामुदायिकतर्फः सैनामैना पर्रोहा परमेश्वर नमुना मावि.शीर्षमा :

सामुदायिक विद्यालयहरूमध्ये सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालय सबैभन्दा अगाडि रहेको छ, जहाँबाट ४ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । यस्तै अन्य सामुदायिक विद्यालयहरूमा जनकल्याण माध्यमिक विद्यालयबाट १, रामापुर माध्यमिक विद्यालय १ जना रहेका छन् ।
यो तथ्यले देखाउँछ कि नगरकै स्थापित सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षामा निरन्तरता दिँदै विद्यार्थीहरूलाई प्रतिस्पर्धी बनाइरहेका छन् ।
संस्थागत विद्यालयः प्रभात इंग्लिस बोर्डिङ स्कुलको सशक्त उपस्थिति :

संस्थागत विद्यालयहरूतर्फ हेर्दा प्रभात इंग्लिस बोर्डिङ स्कुलका २ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भए भनि अन्य दुई सैनामैना मेमोरिबाट १, सुनगाभा इंग्लिस बोर्डिङ स्कुलबाट १ जनाले मात्र ४ जिपिए ल्याउन सफल भए ।

सामुदायिक विद्यालयमा सुधारको संकेत :

सामुदायिक विद्यालयको यस्तो प्रगति शिक्षामा पहुँचसँगै गुणस्तरमा आएको सुधारको प्रमाण हो । स्थानीय तहले विगत केही वर्षयता शिक्षा क्षेत्रमा गरेका लगानी र शिक्षकहरूको निरन्तर परिश्रमले यस्ता नतिजा दिएको स्थानीय बुद्धिजिवीहरुको भनाइ छ ।

यस उपलब्धिले सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षाको स्तर दिनप्रतिदिन सुधार हुँदै गएको संकेत गरेको छ । नगर शिक्षा शाखाका अनुसार यो सफलता शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समिति बीचको सहकार्यको फल हो ।

नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले पनि सामुदायिक विद्यालयको सफलतालाई स्वागत गर्दै भनेका छन्, “हामीलाई गर्व छ कि हाम्रो नगरका सामुदायिक विद्यालयहरूले संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्दै उत्कृष्ट नतिजा दिन सके । अब गुणस्तर सुधारका योजनालाई अझै सशक्त बनाउने छौं ।“

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation