
सैनामैना। रुपन्देहीको सैनामैना–२ मा अवस्थित न्यू एकेडेमी बोर्डिङ स्कुलले एक दशकभन्दा बढी समयदेखि एसईई परीक्षामा सतप्रतिशत सफलता हासिल गर्दै आफ्नो शैक्षिक उत्कृष्टता प्रस्तुत गर्दै आएको छ।
सोमबार सम्पन्न ‘बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रम’ मा विद्यालयले यस वर्ष पनि सबै विद्यार्थीलाई सफलतापूर्वक उत्तीर्ण गराउन सफल भएको घोषणा गर्यो। कुल ४६ जना सहभागीमध्ये सबै उत्तीर्ण भएका छन्। जसमध्येः १४ जना विद्यार्थीले ३.६ देखि ४ जीपीए, २४ जनाले ३.२ देखि ३.६ जीपीए र ८ जना विद्यार्थीले २.८ देखि ३.२ जीपीए ल्याउन सफल भएकाछन् ।
कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगर प्रमुख फणीन्द्र प्रसाद शर्माले न्यू एकेडेमी बोर्डिङ स्कुललाई सैनामैनाको शैक्षिक क्षेत्रमा स्थापित ‘ब्रान्ड’ को रुपमा चित्रित गरे। उनले भने, “न्यू एकेडेमीमा जति रोपियो, त्यति फल्दो रहेछ। यहाँको लगानी सधैं फलदायी देखिएको छ। विद्यालयले सैनामैनालाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न ठूलो योगदान पुर्याइरहेको छ।”
विद्यालयका अध्यक्ष मीन प्रसाद पौडेल, प्रिन्सिपल टोपलाल भट्टराई र एकेडेमी प्रमुख नवीन प्रभुले सफल विद्यार्थीहरूप्रति गर्व व्यक्त गर्दै विद्यालयको गुणस्तर अझै उचाइमा पुर्याउने प्रतिबद्धता जनाए। उनीहरूले विद्यार्थीहरूको मेहनत, अभिभावकको विश्वास र शिक्षकहरूको समर्पणकै कारण यो सफलता सम्भव भएको बताए।
कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकहरूको उपस्थिति थियो। सहभागिहरूले न्यू एकेडेमी बोर्डिङ स्कुलले सैनामैनाको शैक्षिक विकासमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।