![](http://upakaronline.com/wp-content/uploads/2023/07/356583966_1453644858724195_8090951052753461500_n-670x420.jpg)
सैनामैना। कञ्चन गाउँपालिकाको हर्नाचौर देखि जनचाहाना स्कुल सम्मको बाटो पिचको लागि संघीय सरकारबाट प्राप्त सशर्त बजेट फ्रिज हुने अवस्था आएपछि अन्तिम समयमा कर्मचारीहरुले भुक्तानीको पहल गर्दा उल्टो धम्की र गाली खानुपरेको छ ।
आर्थिक बर्ष २०७९/०८० को सरकारी कार्यालयको भुक्तानी हुने अन्तिम दिन असार २४ गते आईतवार राती १२ बजेसम्म थियो । त्यो दिन दिउँसो सफ्टवेयर नचलेका कारण कञ्चन गाउँपालिकाका कर्मचारीहरु रातीसम्म कार्यालयमा बसेर काम गरिरहेका थिए ।
कर्मचारीहरुले राती पनि नभनी काम गरिरहेको बेला स्थानीय केही युवाले मादक पदार्थ सेवन गरि कर्मचारीहरुलाई वडा कार्यालयमै गई गाली गर्ने र होहल्ला गरेपछि प्रहरीले उनीहरुलाई आईतवार राती नियन्त्रणमा लिएर सोमबार रिहा गरेको छ ।
सरकारी कार्यालयमा बर्षभरि भए गरेका कामको भक्तानी दिने अन्तिम दिन भएकोले देशैभरिका स्थानिय तहमा त्यो दिन रातीसम्म काम भएको थियो ।
कञ्चनकै विकास निर्माणको लागि आएको रकम भुक्तानी नभए फ्रिज हुने अवस्था देखिएपछि कर्मचारीले राती समेत काम गरेका थिए तर उल्टो कर्मचारीको मनोबल गिराउने प्रयास भएको भन्दै पालिकाले घटनाप्रति चिन्ता प्रकट गरेको छ ।
कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले कञ्चनका स्थानीय दुई युवाहरुले मादकपदार्थ सेवन गरि कार्यालयमै गएर हो हल्ला गर्ने, भिडियो खिच्ने र कर्मचारीलाई गाली गर्ने गरेको बताउनु भयो ।
उहाँले यस किसिमका कृयाकलापले गर्दा आफ्नो ब्यक्तिगत समयलाई ख्याल नगरि गाउँपालिकाको काममा खटिने कर्मचारीको मनोबल नै गिराउने काम भएको बताउनु भयो ।
उता इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरिक्षक राजाराम यादवले मादक पदार्थ सेवन गरि वडा कार्यालयमा हो हल्ला गरिरहेको भन्ने सूचना प्राप्त भएको र उक्त स्थानमा स्थानीय दुई युवाले मादक पदार्थ सेवन गरि वडा कार्यालयमा हो हल्ला गरिरहेको देखिएपछि सम्झाउँदा समेत नमानेको हुँदा रातिसम्म होटल खुल्ला गर्ने होटल सञ्चालक र मादक पदार्थ सेवन गरि होहल्ला गर्ने दुईजना युवालाई आईतवार नियन्त्रणमा लिएर अर्कोदिन सोमबार छोडेको बताउनु भयो ।
कञ्चन गाउँपालिकाका प्रबक्ता चित्र तुलाचनले कञ्चन गाउँपालिकाको हर्नाचौर देखि जनचाहाना स्कुल सम्मको बाटोको सशर्त बजेट अन्तिम चरणमा रहेको र उक्त बाटोको बजेट त्यस दिन निकासा नगरेमा बजेट फ्रिज हुने अवस्था देखिएपछि कर्मचारीहरुले राती अबेरसम्म बसेर काम गरेको बताउनु भयो ।
उहाँले संघीय सरकारको सशर्त अनुदानको बजेट त्यो दिन भुक्तानी नभएको अवस्थामा गाउँपालिकामाथि ब्ययभार बढ्ने हुँदा गाउँपालिकाको निर्देशन अनुसार कर्मचारीहरुले अबेरसम्म काम गरेको बताउनु भयो ।