प्रमिला वि.सी., सैनामैना ।
राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति कपिलवस्तुले जिल्ला स्तरीय खुल्ला सोरठी गीत तथा नृत्य प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
सोरठी मौलिक संस्कार संस्कृति मात्र नभइ हाम्रो पहिचान पनि हो । लामो इतिहास बोकेको मौलिक तथा अत्यन्तै लोकप्रिय सोरठी नाचको बारेमा र यसको सङ्गीत र लयको बारेमा पछिल्लो पुस्ताले सिक्न आवश्यक रहेकाले यो कार्यक्रम गर्न लागिएको हो । साथै मौलिक सस्कृतिलाई जगेर्ना गर्ने मुख्य उद्धेश्यले लोप हुदै गएको सोरठी गीत तथा नृत्य प्रतियोगीता गर्न लागेको आयोजक सस्थाले जनाएको छ ।
राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति कपिलवस्तुको तेस्रो अधिवेशन पछि नवगठित कार्य समितिको पहिलो बैठकले मंसिर ७ गते एकादशीको दिन बाणगंगा–६ लक्ष्मणघाट बोलवमधामको परिसरमा जिल्ला स्तरीय खुल्ला सोरठी गीत तथा नृत्य प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष विमल गैरेले जानकारी गराउनुभयो । बैठकले कार्यक्रम सफल गराउन विभिन्न उप–समिति समेत गठन गरेको छ । गैरेले सस्कृति संरक्षण, कलाकर्मीको उत्थानका लागि धेरै किसिमका संगठन खोलिए पनि सस्कृति जोगाउन तर्फ कुनै सस्था लाग्न नसकेको आरोप लागाउनुभयो ।
संगीतका नाममा खोलिएका संगठनले सस्कृतिको पनि संरक्षण गर्नु पर्ने भन्दै सोरठी संरक्षण र प्रवद्र्धन गर्न स्थानीय सरकारसँगै युवाले चासो दिन आवश्यक रहेको राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय सचिव थानेश्वर अधिकारीले जानकारी दिनुभयो । युवा पुस्तामा मौलिक संस्कार हस्तान्तरण हुन आवश्यक रहेको उहाँको भनाइ छ ।