कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा यहि फागुन १८ गतेदेखि दादुरा–रुबेला खोप अभियान सुरु गरिने भएको छ । मङ्गलवार सिद्धिपुरमा भएको दादुरा–रुबेला खोप सम्बन्धि नगर स्तरीय योजना तर्जुमा तथा अभिमुखिकरण कार्यक्रममा १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाइने जानकारी गराइएको हो ।
कार्यक्रमको बारेमा जानकारी दिदै नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले नगर भित्रका विभिन्न विद्यालय र खोप केन्द्र गरि १ सय ठाउँ बाट खोप लगाइने जानकारी दिनुभयो । बाणगंगा नगरपालिका वडा नम्बर १ का ८ ठाउँ, २ नम्बर वडाका ९ ठाउँ, ३ नम्बर वडाका ६, ४ नम्बर वडाका ९, ५ नम्बर वडाका ९, ६ नम्बर वडाका ७, ७ नम्बर वडाका ८, ८ नम्बर वडाका १३, ९ नम्बर वडाका ८, १० नम्बर वडाका ७ र ११ नम्बर वडाका ९ ठाउँ बाट खोप दिइने प्रमुख पौडेलले बताउनुभयो । अभियानमा ३० जना भ्याक्सिनेटर खटिने पनि उहँले बताउनुभएको छ ।
कार्यक्रमका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख चक्रपाणी अर्यालले नगर स्वास्थ्य क्षेत्रमा जिम्मेवार रहेको भन्दै सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीहरुलाई आफ्नो क्षेत्रमा खटेर लाग्न निर्देशन दिनुभयो । साथै उहाँले हरेक अभिभावकले आफ्ना बालबालिकाहरुलाई पायक पर्ने खोप केन्द्रमा लगेर खोप लगाउन पनि आग्र गर्नुभयो ।
त्यस्तै उपप्रमुख रिता कुमारी चौधरीले नगरवासीको स्वास्थ्य प्रति पालिका गम्भिर रहेको भन्दै विभिन्न योजना तथा कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो । नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा कयौँ उत्कृष्ट कार्य गरेपनि केहिले थाहा नपाएको भन्दै प्रचार प्रशारलाई तिव्र बनाईदिन सञ्चारमाध्यम सङ्ग आह्वान समेत गर्नुभयो । विगतका वर्षहरुमा पनि खोप कार्यक्रम सञ्चालन गरेकोले ढुक्क भएर लगाउन उहाँले आग्रह गर्नुभयो ।
डाक्टर इला सिंह राठौरले २ मात्रामा लगाइने दादुरा–रुबेला खोप निक्कै भरपर्दो, उपयोगी र विश्वासिलो रहने बताउनुभयो । पछिल्लो २ वर्ष यता देशभर १६ सय बढी बालबालिकामा दादुरा–रुबेलाको माहामारी फैलिएको र १ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
मेयर चक्रपाणी अर्यालको अध्यक्षता भएको कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्य, विभिन्न शाखाप प्रमुख, स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक शिक्षिका, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।