![](http://upakaronline.com/wp-content/uploads/2024/02/428674262_785708783590721_8117421901833113644_n-670x420.jpg)
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका ४ प्रगती टोलमा मालवाहक ट्रक (लहरी गाडी) किराना पसलमा पल्टिदा किचिएर ३ जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् । मृतक मध्ये दुई जना एकै परिवारका हुन् ।
शुक्रबार विहान आर जे २९ जीबी १५६१ भारतीय नम्बर प्लेटको लहरी प्रगती टोलमा पल्टिएको थियो । लहरीमा लोड गरिएको मार्बल ढुंगाले किचिएर बूढीगंगा गाउँपालिका ४ का ज्योती अधिकारीकी ४ वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सोही स्थानकी सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको हो ।
शुक्रबार बिहान ७ बजे मार्बल बनाउने कच्चा पदार्थ (ढुंगा) बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी किराना पसलमा पल्टिएको थियो । पल्टिएको लहरीमा लोड गरिएको ढुंगाले थिचेर तीन जना बालबालिकाको घटनास्थलमा नै मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले बताए । मृतकको शव निकाल्न प्रहरीलाई करिब ४ घण्टा लागेको थियो ।