शिवगढी क्रान्तिको उर्वराभुमी : सभामुख घर्ती

चन्द्रौटा । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले शिवगढी क्षेत्र क्रान्तिको उर्वराभूमी रहेको बताउनुभयो । शिवराज नगरपालिका वडा ९ शिवगढीमा बिहीबार आयोजित सहिद अभिनन्दन कार्यक्रममा बोल्दै सभामुख घर्तीले २०४८ साल देखि नै सानो रोल्पा भनेर चिनेको बताउँदै शिवगढीका अधिकांश घरपरिवारले व्यवस्था परिवर्तनको लागि ठुलो क्षति व्यहोरेको बताउनुभयो ।

सभामुखले आफू यसै गाउँमा बसेर युद्धमा होमिएको स्मरण गर्दै शिवगढीका जनताको साथ कहिल्यै नभुल्ने बताउनुभयो । ‘म पनि १६ वटा गुलगोज चढाएर बाचेको हु, तीन दिनमा होसमा आएको हु, घर्तीले भन्नुभयो, ‘देशको लागि ज्यान दिने सहिद सधैँ अमर रहन्छन् । शिवगढीलाई आधार किल्ला मानेर विप्लव नेतृत्वको नेकपाले केन्द्रीय कार्यालय शिवगढीमा निर्माण गरेकोमा धन्यवाद दिनुभयो । परिवर्तनको लागि देशमा भएका विभिन्न आन्दोलनबाट सहिद भएकाहरूको भूमिका अतुलनीय रहेको जिकिर गर्नुभयो । सहिदका सपनालाई युद्धबाट बाचेकाहरूले पुरा गर्नुपर्ने जोड समेत दिनुभयो । सभामुख घर्तीले गिरिजाप्रसाद कोइरालाको भूमिकालाई प्रशंसा गर्दै वार्ताको माध्यमबाट सङ्घीय लोकतन्त्र गणतन्त्र नेपाल स्थापना गर्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा शिवराज नगरपालिकाका मेयर अजय थापाले देशलाई सक्षम बनाउन र सुशासन कायम गर्नको लागि बलिदान दिन तयार हुने सहिदका सपना अझै पुरा हुन नसकेको बताउनुभयो ।

नगरपालिका भित्रका ३८ जना सहिद परिवारलाई नगद, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएका नेकपा माओवादी केन्द्रका शिवराज नगर इन्चार्ज दिनेश पुनले बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला संयोजक नारायण जिसी निर्मल, लोसपा पार्टीका केन्द्रीय सदस्य रबिदत्त मिश्र,नेकपा एमालेका नगर उपाध्यक्ष महादेव पोखरेल,शिवराज नगरपालिका वडा न ३ का अध्यक्ष टेकलाल सापकोटा, जनक्रान्ति सहिद परिवार समाजका जिल्ला संयोजक डा प्रकाश पौडेल,नेकपा माओवादी शिवराज नगर कार्यवाहक अध्यक्ष सिता बुढा लगायत बोल्नुभएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation