कपिलवस्तु । स्थानीय उत्पादनको ब्रान्डिङ्ग र प्रवदर््धन गर्ने भनेपनि बाहिर बाट आउने वस्तु रोक्न पहल नगरेको बाणगंगाका कृषक तथा स्थानीयले गुनासो गरेका छन । खुला सिमानाकाका कारण भैरहेको चोरी निकासीले यहाँका कृषक र उद्योगी व्यापारी मारमा परेपनि स्थानिय सरकारले बेवास्ता गरेको उनीहरुले गुनासो गरेका हुन ।
विहीबार बाणगंगा नगरपालिकामा आगामी आर्थिक वर्षको बजेट निर्माणको लागि निजि क्षेत्र र सरोकारवालाहरु बीच भएको छलफल तथा अन्तरक्रियामा उनीहरुले यस्तो गुनासो गरेका हुन । उत्पादनलाई किसानले आफ्नो पसिनाको मुल्य पाउने गरि बजारीकरण गरिदिन पनि पालिका सङ्ग उनीहरुले आग्रह गरेका छन ।
त्यस्तै अन्य सहभागिहरुले बाणगङ्गामा अरबौ रुपैयाँको आन्तरिक स्रोत रहेको भन्दै बाणगङ्गालाई औद्योगिक क्षेत्र बनाउनुपर्नेमा जोड दिए । प्राकृतिक स्रोत साधनामा निक्कै धनि रहेको भन्दै त्यसको सहि व्यवस्थापन गर्न उनीहरुले माग समेत गरेका छन ।
त्यस्तै छलफल कार्यक्रममा नगर भित्रका प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपाया, नदिजन्य पदार्थ चोरी, सडक दुर्घटना, बिजुलीका तार व्यवस्थापन, समयमा राषायनिक मल, बीउबिजनको अभाव, सिंचाईको समस्या लगायतका समस्यालाई सहभागीले गम्भीर रुपमा उठाएका थिए ।
छलफल कार्यक्रममा सहभागीहरुको जबाफ दिदै कार्यक्रमकी अध्यक्ष तथा नगर उपप्रमुख रिता कुमारी चौधरीले नगरको विकासको लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । नगरपालिका एक्लैले केहि गर्न नसक्ने भएकाले यहाँका निजि क्षेत्र सहित सम्पुर्ण सरोकारवाला निकाय र पालिकाबिच सहकार्य हुन सके मात्र नगरको चौतर्फी विकास हुन सक्ने बताउनुभयो । खुला सिमानाकाका कारण उद्योगी व्यवसायी र कृषक मुख्य रुपमा मारमा परेको स्विकार गर्दै त्यसको लागि तिनै तहका सरकार गम्भिर भएर लाग्नुपर्ने बताउनुभयो । उपमेयर चौधरीले पछिल्लो समय किसानहरुले आफ्नो उत्पादन रोडमा ल्याएर फाल्ने अवस्था आएको भन्दै त्यसको लागि तिनै तहका सरकार र सम्बन्धित सम्पुर्ण निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रम माथि प्रकाश पार्दै नगर प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बाणगङ्गाको उन्नति र प्रगति हुनेगरि आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभयो । बजेट निर्माणको लागि नगरपालिकाले चरणबद्धरुपमा निजि लगायत सरोकारवाला सम्पुर्ण पक्ष सङ्ग छलफल गरिरहेकोले अबको बजेट उत्कृष्ट दाबी गर्नुभयो । त्यस्तौ उहाँले अनलाइन बाटै बजेट लगायत सम्पुर्ण क्षेत्रमा सुझाव पेश गर्नको लागि नगरपालिकाले तयारी गरिरहेको समेत बताउनुभयो ।
बाणगङ्गा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, विभिन्न राजनैतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ र उद्योग व्यापार संघका प्रतिनिधि, विभिन्न सहकारीका पदाधिकारी, बाल क्लब, नगर स्तरीय युवा संजालका प्रतिनिधि, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी लगायत स्थानीयहरुको सहभागीता रहेको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख शान्तराज आचार्यले गर्नुभएको थियो ।