![](http://upakaronline.com/wp-content/uploads/2024/03/nep-670x420.jpg)
काठमाडौं । साफ यू-१६ महिला च्याम्पियनसिप अन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले पहिलो जित हासिल गरेको छ। सोमबार भएको खेलमा नेपालले भुटानलाई पराजित गर्दै ३ अङ्क हासिल गर्यो।
पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपालले एन्फा कम्पलेक्स, सातदोबाटोमा भएको खेलमा भुटानलाई ३-० ले हराउँदै अङ्क तालिकामा खाता खोलेको हो। नेपालका लागि पुजा गिरी, भुमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले समान १-१ गोल गरे। जितसँगै नेपालले ३ अङ्क प्राप्त गरेको छ। खेलमा समान ३-३ अङ्क भएपनि गोल अन्तरमा भारत पहिलो, बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन्।
खेलको १४ औं मिनेटमा नेपालले पुजा गिरीको गोलमार्फत अग्रता लिएको थियो। तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दीका रुपमा रहेको भुटान विरुद्ध गिरीले गरेको फितलो प्रहार गोलरक्षक केल्जाङ वाङमोले रोक्न नसक्दा नेपालले अग्रता लिएको थियो। त्यसको ४ मिनेटपछि नै कप्तान भुमिका बुढाथोकीले नेपालको अग्रता दोब्बर पारिन्।
२९ औ मिनेटमा नेपालले तेस्रो गोल थप्यो। ग्यान्सु डोल्मा लोले २५ यार्ड टाढाबाट गरेको फ्रिकिक सिधै गोल भयो। गोलरक्षक वाङमोको हातमा बल लागेपनि उनले क्लियर गर्न भने सकिनन्। ३८ औं मिनेटमा एक गोल फर्काउने अवसर भुटानले गुमायो। पेनाल्टी क्षेत्रभित्र ह्यान्ड भएपछि पाएको पेनाल्टीला छिरिङ ल्हामोले गरेको प्रहार गोलरक्षक झरना डुम्राकोटीले बचाएकी थिइन।
यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल बंगलादेशसॅग २-० ले पराजित भएको थियो। भारतले भुटानलाई ७-० ले हराएको थियो । मंगलबार भारत र बंगलादेश खेल्ने छन्। नेपाललाई फाइनल प्रवेशका लागि भारतलाई हराउनु पर्ने चुनौती छ। बंगलादेशको अन्तिम खेल भुटानसँग रहेको र नेपाललाई हराएकाले भारतसँग पराजित भएको खण्डमा समेत बंगलादेशको फाइनल सम्भावना बलियो छ।