चिनी उत्पादनको अति व्यस्त हुने महिना फागुनमै उखु अभाव

महाेत्तरी । फागुन महिना चिनी उत्पादनको अति व्यस्त हुने महिना हो । तर यही बेला उखुको अभाव भएको छ । पर्याप्त उखु नहुँदा दिन बिराएर मिल सञ्चालन गर्नुपरेको महोत्तरीको एभरेस्ट चिनी उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताउनुभयो । आफ्नो उद्योगले दैनिक ४० हजार क्विन्टल उखु पेल्ने क्षमता भए पनि २५ हजार क्विन्टल उखु आइपुग्न पनि हम्मेहम्मे रहेको उहाँले बताउनुभयो ।

यस्तै नवलपरासीको लुम्बिनी चिनी उद्योगमा पनि उखु अभाव हुँदा क्षमताअनुसार सञ्चालन गर्न नसकेको उद्योगका प्रशासन प्रमुख कुश सुवेदीले बताउनुभयो । अहिले सबैजसो चिनी मिलमा उखुको अभाव छ ।

२०४९ सालदेखि उखु खेती गर्दै आएका रौतहटको वृन्दावन नगरपालिका–७ का किसान जयराम साह उखुको चलानमा ढिलासुस्ती, समयमा भुक्तानी नदिने, मलको अभावलगायत समस्या झेल्न थालेपछि खेती परिवर्तन गरेको बताउनुहुन्छ ।

रौतहटमा १० वर्ष अघिसम्म १८ हजार किसानले उखु खेती गर्ने गरेकामा अहिले पाँच हजार जनाभन्दा पनि कम किसानले उखु खेती गरिरहेका उखु उत्पादक सङ्घ रौतहटका अध्यक्ष अशोक यादवले जानकारी दिनुभयो । ३० लाख क्विन्टलसम्म उखु उत्पादन हुने रौतहटमा अहिले सात/आठ लाख क्विन्टल मात्र रहेको उहाँले बताउनुभयो ।

उखु किसानलाई सरकारले हेर्ने दृष्टिकोण र चिनी उद्योग मालिकहरूले गर्ने ठगी दुवै कारणले किसानहरू मर्कामा परेकf र उखुको लगानी उठ्ने अवस्था नहुँदा किसानहरू पलायन हुन थालेका नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनाली बताउनुहुन्छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation