![](http://upakaronline.com/wp-content/uploads/2024/03/00-670x420.jpg)
उपकार अनलाइन,सैनामैना ।
समुदाय र प्रहरीको साझेदारी र समन्वयमा मात्रै लागू औषध दुव्र्यसन नियन्त्रण गर्न सकिने सैनामैनामा बुधबार आयोजित कार्यक्रममा औंल्याइएको छ । समुदाय प्रहरी साझेदारी अन्तरगत इलाका प्रहरी कार्यालय मुर्गिया रुपन्देहीको आयोजना तथा सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको सहआयोजनामा भएको लागूऔषध दुव्र्यसनी न्यूनिकरण सम्बन्धि सचेतनामूलक कार्यक्रममा उक्त कुरा औंल्याइएको हो ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले पछिल्लोसमय समाजमा धेरै परिवर्तन आएको बताउँदै अहिले घरघरमा हुक्का छैन, घरका बुढा मान्छेले चुरोट, सुर्ती पिउन छोडनुभएको छ तर त्यो युवाहरुमा सरेकोले चिन्ताको बिषय भएको बताउनु भयो । उहाँले अहिले विद्यालय पढ्ने युवा विद्यार्थी बालबालिकाहरुमा लागूपदार्थको लत बसेको बताउँदै यो समस्याका रुपमा बढ्दै गएको उल्लेख गर्नुभयो ।
सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले लागूपदार्थ दुव्र्यसन नियन्त्रणका लागि कुनै एक संस्था वा समूहको प्रयासमा मात्रै संभव नरहेको बताउँदै यसमा समुदाय र प्रहरीको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रञ्जितसिंह राठौरले खासगरी लागूपदार्थको समस्या सवैभन्दा बढी खुला सिमा भएको कारण देखापरेको बताउनु भयो । उहाँले यसको नियन्त्रणको लागि प्रहरीले विभिन्न काम गर्दै आएको बताउँदै चालू आर्थिक बर्षको आठ महिनामा १ सय ८ जना पुरुष र ७ जना महिलामाथि मुद्दा दर्ता गरेको बताउनु भयो ।
कार्यक्रममा सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष झविन्द्र पोखरेल, पत्रकार सुरेश परियारले पनि बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीका प्रहरी निरिक्षक प्रदिप पौडेलले गर्नुभएको थियो ।