![](http://upakaronline.com/wp-content/uploads/2024/03/narayan-kaji--670x420.jpg)
भैरहवा। गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ । उक्त दुई दिने सम्मेलनमा भाग लिन विभिन्न देशका गैरआवासीय राजदूत, नेपालका लागि अवैतनिक वाणिज्यदूतहरू, उच्च सरकारी अधिकारी, पर्यटन क्षेत्रका विज्ञ पनि लुम्बिनी आइपुग्नुभएको छ ।
कार्यक्रममा भाग लिन १९ वटा मुलुकका गैरआवासीय राजदूतहरू एकै पटक लुम्बिनीमा भेला भएका छन् । उक्त सम्मेलनमा भाग लिन अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मङ्गोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू बिहीबार दिउँसो बुद्ध एयरको जहाजमा भैरहवा आएका थिए ।
आयोजकले लुम्बिनीको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन तथा विश्व शान्ति सन्देशका लागि सम्मेलन गरिएको जनाएका छन् । यो सम्मेलन परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलगायत सहभागी हुनुभएको छ ।
सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्द्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुति गरिने कार्यक्रम छ । नेपालमा लगानीको अवसर बढाउन पनि कार्यक्रमले योगदान गर्ने आयोजकको भनाइ छ । नेपाल पर्यटन बोर्ड तथा लगानी बोर्डको कार्यालयको पनि सम्मेलनमा सहयोग छ । विश्व शान्ति सम्मेलन शुक्रबार सकिने छ ।