प्रेस चौतारी रुपन्देहीको आयोजनामा डिजिटल मिडीया व्यवस्थापन तथा लेखनवृती तालिम सुरु

बुटवल । प्रेस चौतारी नेपाल रुपन्देही शाखाको आयोजनामा बुधबारदेखि बुटवलमा डिजिटल मिडीया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सुरु भएको छ । रुपन्देहीमा क्रियाशिल प्रेस चौतारीका सदस्य तथा सञ्चारकर्मीहरुका लागि २ दिनसम्म सञ्चालन हुने तालिममा विभिन्न १० वटा विषयमाथि विषय विज्ञबाट सहजिकरण गरिने छ ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले मिडीयाको क्षेत्रबाट बुटवलको बिकासका लागि आवश्यक सुझाब सल्लाहको अपेक्षा गरे । के कुराले बुटवल राम्रो हुन सक्छ ती विषयमा छलफल र निश्कर्षसहित आउनुभयो भने हामीलाई पनि अघि बढ्न सहज हुन्छ । प्रमुख पाण्डेयले भने, अब बुटवलको बिकासमा हामी सबै जुट्न आवश्यक छ । सबै मिलेर बुटवल बनाउनु पर्ने भन्दै उनले यहाँ शैक्षिक क्षेत्रको बिकास तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम भैरहेको बताए ।

यसैगरी बुटवल बजारको सडक मर्मत तथा व्यवस्थापन, सुरक्षाका लागि बजार क्षेत्रहरुमा आवश्यक सिसिटिभी जडान, उज्यालो शहरको रुपमा बिकास गर्न हाईमस्ट लाइट जडान, छाडा चौपाया व्यवस्थापन तथा बुटवल बसपार्कमा विभिन्न भौतिक संरचना निर्माण लगायतका योजना सुनाए ।

प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले समयसापक्ष रुपमा डिजिटल मिडीयाको प्रयोग र यसको व्यवस्थापनका लागि सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताए । पछिल्लो समय मिडीया क्षेत्रमा थपिएका चुनौतीहरुको सामना गर्न तथा बिकसित प्रविधिको प्रयोगमा सञ्चारकर्मीले आफूलाई बिकसित र परिमार्जित गर्नु पर्ने बताए । सोही उद्देश्य अनुसार नै प्रेस चौतारीले कार्यक्रमको आयोजना गरेको बताए ।

तालिममा डिजिटलमिडियामा अवसर।र चुनौती, संघीयतामा मिडीया, फेक समाचार, डिजीटल मिडीयाका आयाम, सोसल मिडीयाको प्रयोग, समाचार स्रोत र ईस्यु बारे छलफल गरिने प्रेस चौतारी रुपन्देहीका उपाध्यक्ष विपी गौतमले जानकारी गराए । बुटवल उपमहानगरको आर्थिक सहयोगमा आयोजित तालिममा २ दर्जन बढी सञ्चारकर्मी सहभागी भएका छन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation