विमल गैरे, सैनामैना ।
दुधराक्ष युवाक्लबद्वारा आयोजित सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिताको विषयमा स्थानीय राजनैतिक दलहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिवार सम्पन्न कार्यक्रममा प्रतियोगितालाई सफल बनाउनुपर्ने उपाय, आर्थिक व्यवस्थापन, खेलकुदले युवाहरूमा उत्प्रेरणा र सकारात्मक ऊर्जा कसरी प्रवाह गर्न सक्छ भन्ने विषयमा चर्चा गरिएको थियो ।
दुधराक्ष युवाक्लबका अध्यक्ष किरन पोख्रलले भलिवल प्रतियोगिताको महत्वमाथि प्रकाश पार्दै खेल क्षेत्रलाई सफल बनाउन यहाँका राजनीतिक नेतृत्वको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो । पोख्रलले यस किसीमको प्रतियोगिता लुम्विनी प्रदेशमै पहिलो पटक दुधराक्ष युवाक्लबले आयोजना गर्न लागेको बताउनुभयो । उहाँले यस प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका भलिबल खेलाडी आउने समेत जानकारी गराउनुभयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले दुधराक्ष युवाक्लबको मात्र यो प्रतियोगिता नभएको र समग्र सैनामैनाकै प्रतिष्ठा भएको कारण यस प्रतियोगितालाई सफल बनाउन सैनामैना नगरपालिकाले विशेष चासो दिनुपर्ने बताएका छन् । साथै उनिहरुले यहाँका संघ सस्थाहरुले पनि सहयोग गर्नु पर्ने र आफुहरुले यस प्रतियोगितालाई सफल बनाउन हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । खेलकुदले सैनामैनालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनीहरुको भनाई छ ।
क्लवका सचिव पदम पाण्डेको सहजिकरणमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस सैनामैना नगर सभापती रण बहादुर खनाल, नेकपा एमाले सैनामैना नगर अध्यक्ष चेतनारायण न्यौपाने (नारन), नेकपा माओवादी केन्द्र सैनामैना नगर अध्यक्ष मान बहादुर महत (नारन), राष्ट्रिय स्वतन्त्र पार्टि सैनामैना नगर अध्यक्ष राज बहादुर क्षेत्री, राष्ट्रिय प्रजातन्त्र पार्टि सैनामैना नगर सह–सचिव सागर लम्साल, नेकपा समाजवादी पार्टि सैनामैना नगर अध्यक्ष देवराज पौडेल लगायत अन्य राजनैतिक दलका प्रतिनिधि, सैनामैना वडा नं. ६ र ७ का वडा अध्यक्षको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता माघ २५ गते देखी फागुन ३ गते सम्म सैनामैना–६, कलौनी चोक लुम्बिनी रोड खेलमैदानमा सञ्चालन हुने छ ।