विमल गैरे, सौमैना ।
रुपन्देहीको गैडहवा गाउँपालिकामा तेस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष खुल्ला भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम भोलिबाट सुरु हुने भएको छ । गैडहवा तालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ उक्त भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजन गरिएको हो । कार्यक्रमको उद्घाटन भोलि विहान ११ वजे गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गर्नुहुने छ ।
यो प्रतियोगिताले गाउँपालिकाभित्रको खेलकुद क्षमताको पहिचान गर्ने र युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ । आयोजक समितिले प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ११ हजारसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । द्वितीय हुने टिमले नगद ६६ हजारसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्दा तृतीय हुने टिमले नगद ३० हजार कप, मेडल र प्रमाण पत्र एवम् सान्त्वना हुने टिमले नगद २० हजारसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष टंक बहादुर बस्नेतले जानकारी दिनुभयो । यस्तैगरी विभिन्न विधागत पुरस्कार तर्फ उत्कृष्ट सेटर उत्कृष्ट डिफेण्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्वर खेलाडीका लागि जनही १ हजार पाचसय र सर्वोकृष्ट खेलाडीका लागि २ हजार पाचसय रुपैया नगद पुरस्कार सहित सम्मान गरिने क्लबका अध्यक्ष बस्नेतले उपकार अनलाइनलाई बताउनुभयो ।
गैडहवा गाउँपालिकाको आर्थिक सहयोग र गैडहवा गाउँपालिका वडा नं. ४ को सहकार्य तथा श्री शान्ति युवा कल्व, गैडहवा–४, गैडाताल, रुपन्देहीको आयोजनामा तेस्रो गैडहवा गाउपालिका अध्यक्ष कप पुरुष खुल्ला भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक मेला २०८१ कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको प्रसार प्रसार संयोजक सन्त महादुर क्षेत्रीले बताउनुभयो ।