काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएका छन् ।बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन यादव जसपा संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएको नेता नवलकिशोर साहले जानकारी दिए ।
रामसहाय पार्टी अध्यक्ष उपेन्द्र यादवनिकट मानिन्छन् । जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले दाबी गर्दै आए पनि अध्यक्ष यादवनिकट रामसहायले बाजी मारेका हुन् ।
जसपा महासचिवसमेत रहेका यादवले २०४६ पछि नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । २०६४ मा पहिलो मधेस आन्दोलनमा सक्रिय रूपमा सहभागी भएका उनी तत्कालीन मधेसी जनअधिकार फोरमको संस्थापक रही सुरुवातदेखि नै महासचिवको भूमिकामा थिए ।
संसदीय यात्रा भने उनले २०६४ बाट सुरु गरे । तत्कालीन फोरमबाटै बाराबाट संविधानसभा सदस्यमा निर्वाचित भएका उनी २०७४ मा पनि सोही ठाउँबाट दोहोरिएका थिए । उनी यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्रीसमेत बनेका थिए ।
सरकारको सहभागिता विषयमा निर्णय गर्न भने राजनीतिक समितिको बैठक पुस १८–१९ मा बस्ने भएको छ । महासचिव मनिष सुमनले सोही बैठकले सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्ने नेताको निर्णय गर्ने बताए ।