काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको कार्यकालमा आफूले लामा र पट्यारलाग्दा भाषणभन्दा काम नै गरेर देखाउने बताएका छन्। चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले यसपटकको कार्यकालमा कुरा कम र काम बढी गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
करिब ५ मिनेट मात्र बोलेका प्रधानमन्त्री दाहालले आफ्नो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गरेको समेत सुनाए। उनले भने, ‘यो कार्यकालमा भाषण गर्नेभन्दा जनताको काम गरेर देखाउनेतिर नै बढी जोड हुनेछ’ उनले अगाडि थपे, ‘ हरेक दिन देशको पक्षमा,जनताको पक्षमा,सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छु।’
प्रधानमन्त्रीमा प्रचण्डको यो तेस्रो कार्यकाल हो। यसअघि उनले दुई पटक देशको नेतृत्व सम्हालिसकेका छन्। प्रधानमन्त्री दाहाल आजै काठमाडौं फर्किने कार्यक्रम छ।