नेपालगञ्जमा दादुरा सङ्क्रमणबाट ३१ महिनाका बालककाे ज्यान गयाे, २८ जनामा सङ्क्रमण

बाँके । नेपालगञ्जमा दादुरा सङ्क्रमणबाट एक बालककाे ज्यान गएकाे छ । दादुरा सङ्क्रमणबाट ३१ महिनाका बालकको ज्यान गएकाे हाे ।

बालकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएकाे नेपालगञ्ज उप–महानगरपालिकाले जनाएकाे छ । अहिले नेपालगञ्जका ५, ७, ८, १०, १५ र २२ गरी ७ वडामा दादुराको सङ्क्रमण देखिएको छ । नेपालगञ्जमा अहिलेसम्म दादुरा सङ्क्रमण हुने सङ्ख्या २८ पुगेकाे उपमहानगरले जनाएकाे छ ।

दादुरा सङ्क्रमण देखिएका प्रायजसाे बालबालिकामा सम्पूर्ण खोप नलगाएको पाइएकाे स्वास्थ्य कार्यालयले जनाएको छ । बालबालिकालाई १३ प्रकारका खोप लगाइन्छ । तीमध्ये दादुराको खोप ९ महिना र १५ महिनामा लगाउने गरिन्छ ।

पहिलो पटक लगाउने डीपीटी खोपले बालबालिकामा ज्वरो आउने भएकाले त्यसपछिका खोप अभिभावक डराएर छुट्ने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमित बालबालिकामा  पहिलो खोप लगाए पनि दोश्रो मात्रा छुटेको पाइएको छ ।

उप–महानगरपालिकाले दादुरा नियन्त्रणका लागि अभियान चलाउने भएको छ । १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुराको खोप दिने उप–महानगरकाे तयारी छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation