![](http://upakaronline.com/wp-content/uploads/2023/01/Lila_giri_-_FsRa1H0A7q-670x420.jpg)
भालुबाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले मुलुकले राजनीतिक स्थिरता चाहेको बताएका छन्।
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीले शनिबार दाङको देउखुरीमा गरेको सम्मान कार्यक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताए।
राजनीतिक अस्थिरताले लोकतन्त्र स्थापना भएपछि पनि सोचे जति विकास र परिवर्तन हुन नसकेको उनको कथन छ। अब राजनीतिक दलहरू मिलेर मुलुक र जनताको हितमा राजनीति गर्नुपर्नेमा जोड दिए।
कुनै पार्टीबाट उम्मेदवार हुनु स्वभाविक हो तर जितेपछि सबैको साझा भएर काम गर्नुपर्ने उनको भनाइ छ। आफू अहिले सबैको मुख्यमन्त्री भएको र सबै जनताको जीवनस्तर उठाउने गरी काम गर्ने मुख्यमन्त्री गिरीले प्रतिबद्धता गरे।
जनताका आवश्यकता धेरै छन्। स्रोत र साधन पर्याप्त छैन। जे जति छ, तिनको सही तरिकाले व्यवस्थापन गरेर विकास र समृद्धिमा लाग्नुपर्ने अहिलेको काम भएको उनले बताए।
लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा नयाँ संरचना निर्माण गरेर काम गर्नुपर्ने अवस्था छ। समयमै संरचना निर्माण गरेर सेवालाई प्रभावकारी बनाउने उनले बताए।
प्रदेश सरकारको सकारात्मक काममा सबै पक्षको सकारात्मक सहयोग चाहिन्छ। सरकार सफल गराउने जिम्मेवारी जनताको पनि हुन्छ। सरकार सफल भए जनता पनि सफल हुने उनले बताए।
पत्रकारको ऊर्जा, लगनशीलताले पत्रकारिताका लागि मात्रै नभई नेता र जनप्रतिनिधिका लागि ठूलो सहयोग मिलेको मुख्यमन्त्री गिरीले बताए।
चौतारी प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकका अवसरमा नव निर्वाचित मुख्यमन्त्री गिरीलाई सम्मान गरिएको हो।
कार्यक्रम प्रेस चौतारी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष शोभाखर पन्थीको अध्यक्षतामा महासचिव निरू गौतमले सञ्चालन गरेकी थिइन्।