बमबहादुर कार्की र विष्णु खत्री लोकगीत क्षेत्रको समानान्तर संस्था खोल्ने तयारीमा

काठमाडौं । वरिष्ठ लोकगायक बमबहादुर कार्की र विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको समानान्तर संस्था स्थापनाको तयारी गरेका छन् । गायक खत्रीले आफूहरु नयाँ संस्थाको विधान लेखनको अन्तिम चरणमा रहेको र आगामी महिना संस्था गठनको औपचारिक घोषणा गर्ने बताए ।

नाममा छलफल भइरहेको उक्त संस्थाको अध्यक्षमा कार्की हुनेछन् भने महासचिवमा खत्री हुने निश्चित भएको छ । विज्ञसहितका संगीतकर्मीलाई अन्य पदमा नियुक्त गर्ने तयारी भइरहेको उनले जानकारी दिए । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नयाँ नेतृत्वको लागि चुनावी गर्मागर्मीमा व्यस्त भइरहँदा केही संगीतकर्मी नयाँ संस्था खोल्न जुटेका हुन् ।

‘प्रतिष्ठानको नेतृत्व स्याङ्जा र पाल्पा जिल्लाको मनोविज्ञानबाट माथि उठ्न सकेन । संकीर्ण सोचले लोकदोहोरी क्षेत्रको विकास असम्भव कुरा हो । हामीले नयाँ संस्थामा लोकदोहोरी मात्र नभएर सबै संस्कृति क्षेत्रका व्यक्तित्वलाई समेट्ने तयारी गरिरहेका छौं,’ खत्रीले भने, ‘सीमित घेराभित्र नेतृत्वको मन पनि साँघुरो भयो ।’

सम्भवतः वैशाख १ गते वा त्यसअगावै नयाँ संस्थाको औपचारिक घोषणा हुने खत्रीले बताए । उनी प्रतिष्ठानका पूर्वमहासचिव समेत हुन् । नयाँ संस्थामा विदेश र प्रदेश विभागलाई पनि समेट्ने तयारी छ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation