![](http://upakaronline.com/wp-content/uploads/2022/09/bish-670x420.jpg)
विमल गैरे, सैनामैना। नेपालीहरुको महान चाड बडादशैं हाम्रो घर आगनीमा बिस्तारै आउँदै छ । चाडबाड नजिकिन थाले सँगै चाडपर्व लक्षित गीतहरू पनि बजारमा आउन थालेका छन् । नेपालीहरुले मनाउने चार्डहरु मध्य महान चाड बडादशैंलाई मानिन्छ । कामको सिलसिलामा टाढाटाढा भएका परिवार एकैसाथ भेट भएर रमाइलो गर्ने पर्वका रूपमा पनि दशैलाई लिने गरिन्छ ।
आशीर्वाद थाप्ने र रमाइलोको रौनकलाई दशैं तिहार विशेष गीतले पनि छुट्टै रौनकता थप्ने गर्दछन । लोक दोहोरी गीत प्रेमी आम श्रोता दर्शक चाडवाड नजिकिदै गर्दा यस्तै गीत संगीतको बेग्लै प्रतिक्षामा रहन्छन्।
नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार मध्ये एक हुन बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री । बागलुङको गलकोटमा जन्मिएका खत्री लामो समय देखि अनवरत रुपमा लोक दोहोरी क्षेत्रमा सकृय छन ।
दशै तिहार आउदा, सुनको जलप, दशैमा आउ प्यारा, मुछे टिका राखे जमरा, रिनै रिनको, जहाजको टिकट, दशैको बेला, सानो सानो झुपडी खरको, दशै तिहार संगै मनाउला लगायतका दशै तिहारका गीत गाएर हजारौं श्रोता दर्शक कमाएका खत्रीको दशै गीत नआए सम्म दशै तिहार आएको महशुस हुदैन । जस्तो सुकै विषयवस्तुलाई गीत संगीतमा उतार्न सक्ने खुबी छ गायक खत्रीमा । बिशेष त विदेशीएका युवाहरुका भावना वुझ्छन त्यतिमात्र होइन् श्रीमान् श्रीमती, आमाछोराको कहानीलाईनै दशैगीतका प्रस्तुत गर्छन गायक खत्रीले ।
खत्रीले दशैं तिहारमा प्रत्येक वर्ष नयाँ गीत श्रोता दर्शक माझ प्रस्तुत गर्दै आउने क्रममा यसवर्ष पनि विल्कुलै नयाँ मर्मस्पर्शी गीत “पूर्णिमा रातको जुन झलमल्ल” बजारमा ल्याएका छन् । आफनै युट्युव च्यानल मार्फत उक्त गीत उनले केहि समय अगाडि रिलिज गरेका छन् । गीत रिलिज भएको केहि घण्टामै आम श्रोता दर्शकको उल्लेख्य माया पाएको छ । गायक खत्रीले बजारमा ल्याएका सबैजसो गीतमा आँफ्नै शव्द र लय सिर्जना गरेपनि यस पटक भने संगीत आफै गरेका छन भने, भरत खत्रीको शव्दमा बजारमा आएको छ । गीतले नजिकिदै गरेका चाडबाडमा हाम्रो परिवेश, जनताको आवाज अनि समाजको वास्तविक विषयवस्तु उठान गरेको छ ।
विहिवार विहान ७ः३० बजे सार्वजनिक भएको दशैं गीत पूर्णिमा रातको जुन झलमल्लको गीतको म्युजिक भिडियो पनि निकै मर्मस्पर्शी देखिन्छ । यसपालिभने आफ्नै गाउमा गएर भिडियो निर्माण गरेको गायक खत्रीले समाजिक सञ्जाल फेशबुक लाइभ मार्फत बताएका थिए ।
आउथे प्यारी तरेरै सागर ।
भन्यो भने साहुले त जागर ।। पूर्णिमा रातको जुन झलमल्ल,
ए प्यारी गाउमै भएपो माने झै हुन्थ्यो दशै तिहार बल्ल ।
गायक खत्री र गायिका पूर्णकला बिसीको आवाजमा रहेको गीतको म्युजिक भिडियो प्रथम क्षेत्रीले निर्देशन गरेका छन् । यसमा मोडल तुलविर थापा र दिया जि.सी.को अभिनय छ । गीतमा पारिवारिक वेदना, बर्षौ देखी संगै दशै मनाउन नपाएका कुरा तथा साहुले घर जा भने जस्तोसुकै अवस्थामा पनि घर आउने लगायतका विषयवस्तु समावेश गरिएको छ ।