मधेशमा सहुलियत ब्याजदरको ऋण लिने बढे

मधेश प्रदेशमा सहुलियत ब्याजदरको कर्जा कार्यक्रम अन्तर्गत ऋण लिनेको सङ्ख्या बढेको एक अध्ययनले देखाएको छ। स्वदेशमै उद्यमशीलता विकास गर्न सरकारले सहुलियत ब्याजदरको कर्जा कार्यक्रम ल्याएको हो।

नेपाल राष्ट्र ब्यांकले गरेको मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको अर्धवार्षिक प्रतिवेदनले आर्थिक वर्ष २०७७/७८ को पुससम्म सहुलियत ब्याजदरको कर्जा लिनेको सङ्ख्या वृद्धि भएको देखाएको छ।

उक्त अवधिमा ब्यांक तथा वित्तीय संस्थाबाट मधेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा रु.४४ अर्ब ६८ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा यस प्रकारको कर्जा रु.आठ अर्ब ५७ करोड थियो।

कर्जामध्ये सबैभन्दा बढी रु.२६ अर्ब ११ करोड अर्थात् ५८.४४ प्रतिशत धनुषामा र सबैभन्दा कम रु.९७ करोड अर्थात् २.१७ प्रतिशत सप्तरीमा प्रवाह भएको तथ्याङ्कले देखाएको छ। यस्तै, पर्सामा दुई अर्ब ५० करोड, बारामा दुई अर्ब ५३ करोड, रौतहटमा एक अर्ब ४४ करोड, सर्लाहीमा तीन अर्ब ६० करोड र महोत्तरीमा एक अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र ब्यांकको तथ्याङ्कले देखाएको छ।

त्यसै गरी औद्योगिक कर्जा समेत वृद्धि भएको छ। समीक्षा अवधिमा ब्यांक तथा वित्तीय संस्थाबाट मधेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा २०.४३ प्रतिशतले वृद्धि भई रु.एक खर्ब १२ अर्ब ३४ करोड पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा रु.९३ अर्ब २८ करोड थियो।

औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कर्जा पर्सामा ६१.४५ प्रतिशत र सबैभन्दा कम सप्तरी जिल्लामा २.५३ प्रतिशत छ। मधेशमा सबैभन्दा बढी उद्योग पर्सामा छन्। कोभिड–१९ महामारी सामान्य हुँदै गएपछि औद्योगिक गतिविधि र उत्पादन बढ्दै गएकाले कर्जा प्रवाह पनि बढेको छ।

सप्तरीमा रु.दुई अर्ब ८४ करोड, सिरहामा रु.पाँच अर्ब ८४ करोड, धनुषामा रु.११ अर्ब ३३ करोड, महोत्तरीमा रु.६ अर्ब ८१ करोड, सर्लाहीमा रु.६ अर्ब, रौतहटमा रु.चार अर्ब ७३ करोड, बारामा रु.पाँच अर्ब ७५ करोड र पर्सामा रु.६९ अर्ब चार करोड औद्योगिक कर्जा प्रवाह भएको तथ्याङ्कले देखाएको छ।

औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जामध्ये गैरखाद्यवस्तु उत्पादन उद्योगतर्फ ५१.६९ प्रतिशत, कृषि‚ वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ २५.६० प्रतिशत, निर्माण उद्योगतर्फ १४.३० प्रतिशत, धातुको उत्पादन, मशिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामान उत्पादनतर्फ ६.९० प्रतिशत, खानी उद्योगतर्फ १.११ प्रतिशत र विद्युत्, ग्यास तथा पानी उद्योगतर्फ ०.४० प्रतिशत कर्जा प्रवाह भएको छ।

सस्तो ब्याजदरले फाइदा
धनुषाको कमला नगरपालिका–१५ मा राधेकृष्ण सः मिल चलाउँदै आएका मूर्तिदेवी मण्डललाई फर्निचरको व्यापार चलाउन रकम अभाव भयो। उनले गत वर्ष ब्यांकबाट विना धितो १५ लाख रुपैयाँ सहुलियत ब्याजदरमा कर्जा लिइन्। अहिले व्यवसाय राम्रै चलिरहेको मण्डल सुनाउँछिन्।

जनकपुरधाम उपमहानगरपालिका–९ मा जय श्रीकृष्ण राधा स्टोर चलाउँदै आएकी रुबीकुमारी साहको व्यापार कोभिड-१९ महामारीपछि थला परेको थियो। उनले पनि ब्यांकबाट सहुलियत कर्जा लिइन्। उक्त कर्जाले थला परेको व्यापारलाई पुरानै अवस्थामा ल्याउन सकेको उनी सुनाउँछिन्।

“कोरोना महामारीका कारण व्यापार नै थला परेपछि पुरानो ऋण बुझाउने स्थिति नै थिएन, नयाँ समान खरीदको त कुरै छोडौं,” साह भन्छिन्, “जनकपुरधामस्थित मुक्तिनाथ ब्यांकबाट १० लाख रुपैयाँ सहुलियत कर्जाकै कारण व्यापारलाई फेरि लिकमा ल्याउन सफल भएँ।”

कोरोना महामारीपछि परिवारको आर्थिक स्थिति कमजोर भएपछि जनकपुरधाम–१ पुल्चोककी रागिनीकुमारी यादव तनावमा थिइन्। सिलाइकटाइ सिकेकी उनले सिलाइकटाइ व्यवसाय शुरू गरिन्। व्यवसाय शुरू गर्न ब्यांकबाट सहुलियत कर्जा लिएको रागिनी बताउँछिन्। अहिले व्यवसाय राम्ररी चलिरहेको उनको भनाइ छ।

राष्ट्र ब्यांकका प्रवक्ता गुणाकर भट्ट सहुलियत कर्जामा भएको बढोत्तरीले सकारात्मक सन्देश दिएको बताउँछन्। यसले आर्थिक क्षेत्रका लागि महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ। भट्ट भन्छन्, “सहुलित कर्जाले आन्तरिक उत्पादनमा वृद्धि हुनेछ भने कृषि कर्जाले कृषि उपजको उत्पादन बढ्छ।”

मुक्तिनाथ विकास ब्यांक, मधेश प्रदेशका प्रमुख प्रभाष झा मधेशमा सहुलियत ऋण लिनेको सङ्ख्या बढ्दै गएको बताउँछन्। कोरोना महामारीले थला पारेको अर्थतन्त्रलाई ब्युँताउन राष्ट्र ब्यांकले ल्याएको सहुलियत तथा कृषि कर्जा लिनेको सङ्ख्या बढ्नु सुखद सङ्केत रहेको उनको भनाइ छ। झाका अनुसार‚ सहुलियत ब्याजदरको ऋण लिंदा ब्यांकले १२ प्रतिशत ब्याजमा दिन्छ, तर सेवाग्राहीले सात प्रतिशत मात्र ब्याज बुझाउनुपर्छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation