बगदादमा हिंसात्मक झडप, कम्तीमा २३ जनाको मृत्यु

बगदाद — इराकको राजधानी बगदादमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या २३ पुगेको छ । ३८० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । सिया मुस्लिम धर्मगुरु एवं नेता मोक्तदा अल सद्रले सोमबार राजनीतिबाट संन्यासको घोषणा गरेपछि उनका हजारौं समर्थक हिंसात्मक प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनकारीहरू सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोडमा उत्रिएपछि उनीहरूलाई रोक्न खोज्दा इराकी सेनाबीच झडप सुरु भएको थियो । झडपका क्रममा गोलाबारी र रकेटसमेत प्रहार भएको आवाज सुनिएको इराकी सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार ७ वर्षयताकै सबैभन्दा ठूलो हिंसात्मक प्रदर्शन भएको बताइएको छ । सरकारी कार्यालय र विदेशी राजदूतावासहरू रहेको सुरक्षित मानिने क्षेत्र ‘ग्रीन जोन’ मै हिंसा मच्चिएको छ । इराकी सुरक्षा अधिकारीहरूका अनुसार सद्र समर्थित पिस ब्रिगेड्स समूह, इरानी समर्थित सुरक्षा दस्ता र सुरक्षाकर्मीबीच झडप भइरहेको हो । पिस ब्रिगेड्स समूहले बढ्दो राजनीतिक संकट हटाउन भन्दै जुलाईदेखि नै आन्दोलन गर्दै आएको छ । उसले इराकी राष्ट्रपति भवनसमेत कब्जा गरिरहेको छ । सोमबार पनि राष्ट्रपति भवनभित्र रहेको स्विमिङ पुलमा आन्दोलनकारीहरू पौडी खेलिरहेका दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

इराकमा सन् २००३ पछि साम्प्रदायिक संघर्ष चर्कंदै आएको छ । हालै साम्प्रदायिक र अन्तरजातीय राजनीतिक प्रतिस्पर्धाले पनि यसमा बल मिलेको बताइन्छ । कुनै समय इरानको पक्षपाती मानिने नेता ४८ वर्षीय नेता सद्र पछिल्लो समय इराकको आन्तरिक राजनीतिमा इरान र अमेरिका दुवैको हस्तक्षेप स्वीकार्य नहुने भन्दै राष्ट्रवादी छबि निर्माणमा सक्रिय छन् । सद्र गत वर्षको अक्टोबरमा भएको आमचुनावमा विजयी पनि भएका थिए । उनी इरान समर्थित समूहभन्दा बाहिरको समर्थनबाट सरकार बनाउन चाहन्थे । तर, सरकार बनाउन असफल भएपछि उनले राजनीति छाड्ने घोषणा गरेका हुन् ।

घोषणालगत्तै आफ्नै समर्थकहरूबाट हिंसात्मक प्रदर्शन चर्काइएपछि सद्रले भोक हडतालको घोषणा गरेका छन् । उनले आफ्ना समर्थकलाई हिंसा छाड्न निर्देशन दिएका छन् । मंगलबार टेलिभिजन सम्बोधन गर्दै उनले आफ्ना समर्थकहरुले चर्काएको हिंसाका लागि इराकी जनतासँग माफीसमेत मागेका छन् । ‘यो कुनै क्रान्ति होइन, किनकि यसले आफ्नो शान्तिपूर्ण चरित्र गुमाएको छ,’ उनले भनेका छन्, ‘इराकमा रगत बग्न दिन पूर्ण प्रतिबन्ध छ ।’

सद्रको टेलिभिजन सम्बोधनपछि इराकी सेनाले मुलुकभर लगाएको कर्फ्यु हटाएको छ । प्रदर्शनले हिंसात्मक रूप लिएपछि सेनाले सोमबार मुलुकभर कर्फ्यु को आदेश दिएको थियो ।

गत अक्टोबरमा ३२९ सिट रहेको इराकी संसद्मा ७४ सिट जितेपछि सद्रले सरकार बनाउने घोषणा गरेका थिए । तर, बहुसंख्यक सिया समुदायकै बीचमा बढ्दो गुटबन्दीका कारण उनले सरकार बनाउन बहुमत जुटाउन सकेनन् । निर्वाचनले स्पष्ट जनमत दिँदा पनि करिब एक वर्षयता इराक सरकारविहीन अवस्थामा छ । जसले इराकमा राजनीतिक संकट गहिरिँदै गएको छ । पछिल्लो समय सद्र र इरान समर्थित समूहबीच झडपका घटनाहरू बढेका हुन् । सद्र शक्तिशाली मेहदी आर्मी नामक सशस्त्र समूहका नेतासमेत हुन् । अमेरिकी आक्रमणपछि सक्रिय उक्त समूहमाथि सन् २००८ मा प्रतिबन्ध लागेको थियो । पछि सद्रले नै पिस ब्रिगेडका रूपमा यसलाई ब्युँताएका थिए ।

इराकी कामचलाउमन्त्री मुस्तफा अल कादिमीले राजनीतिक संकटले केही वर्षयता सुरक्षा क्षेत्रमा प्राप्त उपलब्धि गुम्ने खतरा भएको बताएका छन् । सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणयताकै खराब अवस्थाबाट इराक गुज्रिरहेको उनको भनाइ छ । कच्चा तेलका लागि धनी मानिए पनि राजनीतिक अस्थिरताका कारण औसत इराकीले सामान्य दैनिक आधारभूत आवश्यकता पूरा गर्न पनि नसकिरहेको बताइन्छ । भ्रष्टाचार र बेरोजगारीको समस्या पनि अकासिएको छ ।

घटनाप्रति अन्तर्राष्ट्रिय चिन्ता

हिंसात्मक झडप र कर्फ्यु पछि बगदादस्थित अन्तर्राष्ट्रिय नियोग तथा राजदूतावासले सेवा ठप्प पार्न थालेका छन् । डेनमार्कले दूतावासका कर्मचारीहरूलाई कार्यालय छोडेर जर्मन मिसनको कार्यालयमा जान निर्देशन दिएको छ । इरानले इराकसँग जोडिएको सम्पूर्ण सीमा क्षेत्र सिल गरिदिएको छ । कुवेतले इराकमा रहेका आफ्ना नागरिकलाई तत्काल मुलुक छाड्न भनेको छ । टर्कीले आफ्ना नागरिकहरूलाई बगदादको यात्रा नगर्न सूचित गरेको छ ।

संयुक्त राष्ट्रसंघले घटनाप्रति चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेर्रेसका एक प्रवक्ताले हालको गम्भीर अवस्थालाई सामान्य बनाउन तत्काल आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।

युरोपेली युनियन ईयूले पनि सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ । ईयूले विज्ञप्ति जारी गर्दै हिंसा रोक्न अपिल गर्दै राजनीतिक शक्तिहरूलाई संवैधानिक ढाँचाभित्र रहेर रचनात्मक राजनीतिक संवादको माध्यमबाट समस्या समाधान गर्न अनुरोध गरेको छ ।

दिग्गज कुर्दिश राजनीतिज्ञ मसुद बरजानीले पनि संयमता अपनाउन आह्वान गर्दै राजनीतिक दलहरूलाई द्वन्द्व समाधान गर्न हतियार र हिंसाको भाषा प्रयोग नगर्न आग्रह गरेका छन् । उत्तरी इराकको अर्धस्वायत्त कुर्द क्षेत्रका शासक रहिसकेका कुर्दिस्तान डेमोक्रयाटिक पार्टीका प्रमुख बारजानीले सबै पक्षलाई इराकी जनताको हितलाई ध्यानमा राख्न अपिल गरेका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation