दोस्रो जित संगै भारत एसिया कपको सुपर चारमा

लगातार दोस्रो जितसहित भारत एसिया कपको सुपर चारमा पुगेको छ। युएईमा जारी प्रतियोगिता अन्तर्गत गए राती हङकङलाई ४० रनले हराउँदै भारत समूह विजेताको रूपमा अघिल्लो चरण प्रवेश गरेको हो।

भारतले दिएको १९३ रनको विशाल लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५२ रन मात्र बनाउन सक्यो । हङकङका लागि बाबर हायातले ३५ बलमा ४१ तथा किन्चित शाहले २८ बलमा ३० रन बनाए।

यस्तै जिशन अलिले १७ बलमा अविजित २६ रन तथा स्कट म्याकिन्चीनीले अभिजित १६ रन बनाए पनि हार टार्न सकेनन्। अजाज खानले १४ तथा कप्तान निजाकत खानले १० बनाएका थिए। भारतका भुवनेश्वर कुमार, अर्शदीप सिंह, रवीन्द्र जडेजा र आवेश खाले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९२ रन बनायो। भारतका लागि सूर्यकुमार यादव र विराट कोहलीले अविजित अर्धशतक बनाए।

यादवले २६ बलमा ६ छक्का र ६ छक्कासहित ६८ तथा कोहलीले ४४ बलमा १ चौका र ३ छक्कासहित ५९ रन बनाए। केएल राहुलले ३६ तथा रोहित शर्माले २१ रन बनाएर आउट भएका थिए। हङकङका लागि अयुस शुक्ला र मोहम्मद घजान्फरले समान १-१ विकेट लिए ।

यस जितसँगै समूह ‘ए’ को भारतको २ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा रहँदै सुपर चारमा पुगेको छ। यसअघि पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation