बुटवलसहित देशभर आजदेखि सुपथ पसल

काठमाडौँ। दशैँ, तिहार र छठलाई लक्षित गरेर शनिबारदेखि काठमाडौँ उपत्यकासँगै बाहिरी जिल्लामा सुपथ पसल सञ्चालन हुँदै छन् । चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट्र ट्रडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी)मार्फत सुपथ पसल सञ्चालन हुँदै छ । यी सरकारी संस्थानले आफ्ना बिक्री केन्द्रमार्फत सुपथ पसल सञ्चालन गर्नेछन् ।

चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गरिएको हो । खाद्य कम्पनीका बिक्री प्रमुख भीम थापाले चाडपर्वमा उपभोक्तालाई राहत दिन मुलुकभर ४१ स्थानमा सुपथ पसल सञ्चालन गरिने जानकारी दिए ।

काठमाडौँ उपत्यकाको थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकमा रहेका बिक्री कक्षबाट सुपथ मूल्यमा सामान वितरण गरिने उनले जानकारी दिए । अनलाइनमार्फत सामान वितरण गरिने कम्पनीले जनाएको छ ।

खाद्य कम्पनीका अनुसार चामल, दाल, आँटा, पिठो, पैदा, तेल, चिउरामा प्रतिकेजी सात रुपियाँ छुट दिइएको छ । यस्तै चिनी प्रतिकेजीमा पाँच रुपियाँ र नुन प्रतिकेजीमा दुई रुपियाँ छुट दिएको छ ।

खाद्य कम्पनीले बिक्री गर्दै आएको जुम्लाको सिमी, गेडागुडीमा प्रतिकेजी १० रुपियाँ छुट दिइएको छ । खसीबोका र च्याङ्ग्रामा प्रतिकेजी १० रुपियाँ छुट दिइएको छ ।

यस्तै डीडीसीबाट वितरण हुने घिउमा प्रतिकेजी ५० रुपियाँ, पनिररचिजमा प्रतिकेजी २० रुपियाँ र दहीमा प्रतिकेजी १० रुपियाँ छुट दिइएको छ ।

डीडीसीले उपत्यकाका नयाँसडक, लैनचौर र खुमलटार र उपत्यकाबाहिर सात ठाउँबाट सुपथ मूल्यमा आफ्ना बिक्री गर्ने गर्छ ।

यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकासँगै मुलुकभर २४ स्थानबाट सुपथ मूल्यमा सामान वितरण गर्ने भएको छ । काठमाडौँ उपत्यकामा रहेका बिक्री केन्द्रबाट सुपथ मूल्यमा सामान वितरण गरिने कर्पोरेसनले जनाएको छ ।

चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुनेहुँदा उपभोक्तालाई राहत दिन सरकारले प्रत्येक वर्ष सुपथ पसल सञ्चालन गर्दै आएको छ । चाडपर्वमा उपभोक्तलाई सहुलियत दिन खाद्य कम्पनीलाई दुई करोड ३२ लाख र साल्ट्र टे«डिङ कर्पोरेसनलाई एक करोड रुपियाँ छुट्याएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यसबाट उपभोक्तालाई छुट दिएबापतको रकम जति हुन्छ त्यति रकम सरकारले शोधभर्नाबापत उपलब्ध गराउने गर्छ । दुई वर्षअघिदेखि सरकारले उपभोक्तालाई राहत दिन बजेटमै रकम व्यवस्था गर्दै आएको छ । सुुपथ पसल कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछन् ।

तीन हजार खसीबोका

खाद्य कम्पनीले दशैँका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने भएको छ । कम्पनीले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा ल्याउने भएको छ ।

दशैँमा बजारमा खसीबोकाको खपत धेरै हुने हुँदा बजार मूल्य नियन्त्रण गर्न खाद्य कम्पनीले खसीबोका ल्याउन लागेको हो । कम्पनीले प्रत्येक वर्ष विभिन्न जिल्लाबाट खसीबोका खरिद गरी काठमाडौँमा ल्याएर बिक्री गर्ने गर्छ । खसीबोका र च्याङ्ग्रामा प्रतिकेजी १० रुपियाँ छुट दिएको छ । यसका लागि छ करोड ४५ लाख रुपियाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

दशैँमा उपत्यकामा खसीबोकाको खपत धेरै हुन्छ, निजी व्यवसायीले मनपरी मूल्य निर्धारण गर्न सक्ने हुँदा बजार मूूल्य हस्तक्षेप गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउन खसीबोका खरिद गर्न लागिएको कम्पनीले जनाएको छ । हरेक वर्ष दशैँमा कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बजार मूल्यभन्दा सस्तो मूल्यमा उपभोक्तालाई बेच्दै आएको छ । (लक्ष्मी सापकोटा) गोरखापत्र

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation