विपक्षी पार्टीले झापा ५ मा एमालेकै कामलाईनै चुनावी एजेण्डा बनाउँदै

दमक (झापा) ।  वर्षदेखि लगातार चुनाव लडिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम झापा ५ का मतदाताका लागि नौलो होइन ।

सत्तारुढ गठबन्धनमा अहिलेसम्म भएको सहमतिलाई आधार मान्ने हो भने कमल गाउँपालिकाका स्थायी बासिन्दासमेत रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङ भने झापाली मतदातामाझ नयाँ नाम हो ।

गठबन्धनको हिसाबकिताब फेरबदल भएर कांग्रेस या गठबन्धनभित्रकै अरु जुन कुनै नेताले टिकट पाए भने पनि यति चाहिँ निश्चित छ, ओलीजति पुरानो नेता अर्को छैन ।

झापा ५ हुँदै बग्ने रतुवा र मावा नदीमा यो ३० वर्षमा बगेको पानीको हिसाब छैन, तर ओलीले ३० वर्षदेखि लगाउँदै आएको चुनावी नाराको एक–एक हिसाब राखेका छन् यहाँका मतदाताले । २०४८ सालको चुनावी भाषण होस् या पछिल्लो पटकको प्रतिनिधि सभा विघटन, झापा–५ का नागरिकको मनमा ओलीले चुनावमा गरेको वाचादेखि सरकार प्रमुख भएर गरेको कामका फेहरिस्त छन् ।

नेकपा एमालेको प्रतिस्पर्धी दलहरुले ओलीको कामको आफ्नै हिसाबले ब्याख्या गरिरहेका छन् । रोचक के छ भने, एमालेले जुन, जुन कामलाई उपलब्धी भनेर चुनावी रणनीति तय गरेको छ, कांग्रेस र माओवादीले तिनै कामहरुमा खोट देखेका छन् । हामीले एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि एमालेले झापा ५ मा गरेको भनेको विकास र त्यसलाई प्रतिपक्षीहरुले गरेको इन्कारबारे विश्लेषण गरेका छौं ।

रतुवाको कटान अहिले पनि उस्तै

झापा–५ मा संसदीय चुनावको सबैभन्दा पुरानो नारा रतुवा र मावा नदी नियन्त्रण हो । बस्ती बसेदेखिकै यी नदीको मिचाइमा परेका मानिसहरुलाई रतुवा र मावामा तटबन्ध गरेर जोगाइदिन्छौं नभन्ने कोही नेता छैनन् । तटबन्ध भने अहिलेसम्म बनेको छैन ।

एमाले अध्यक्ष ओलीले चुनाव जितेका बेला केही हदसम्म भए पनि बाँध बाँधिएको एमालेको तर्क छ । एसियाली विकास बैंक एडिबीको सहयोगमा गत वर्षदेखि तटबन्ध निर्माण सुरु हुनु एमाले सरकारकै उपलब्धी भएको पार्टीका नेताहरु बताउँछन् ।

‘हामीले तटबन्धको कामलाई प्राथमिकताका साथ अघि बढाएका छौं,’ एमाले केन्द्रीय सदस्य रोमनाथ ओलीले अनलाइनखबरसँग भने, ‘अरु पार्टीले पनि पहल गर्दा त हुन्थ्यो होला नि रु’

रतुवामा बाँध बनाउन चिनियाँ कम्पनी एचजेएमसी तथा नेपाली कम्पनीहरु मैनाचुली, रोसन निर्माण कम्पनीले संयुक्त ठेक्का लिएका थिए । १९ ठाउँमा तटबन्ध निर्माणका लागि २०७८ जेठमा ठेक्का लागेको थियो ।

काम भने एक वर्षमा ५ प्रतिशत पनि भएन । यसैपालि पनि बाढीले दमक नगरपालिका–७, कमल गाउँपालिका–६ र गौरीगञ्ज गाउँपालिका–६ मा ठूलो नोक्सानी भयो । नागरिक घरबास छोडेर विस्तापित भए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation